
प्रचन्द किन आफ्नो गल्टी खोज्दै छन् ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले कमजोरी कति गरे होलान् ? के–के कमजोरी गरे होलान् ? केलाउने जिम्मा अब नेता कार्यकर्ताले पाएका छन् । प्रचण्डले पार्टी संगठनको नीति, विधि र पद्धतिको विकास र कार्यान्वयनको सम्बन्धमा विगतमा भएका कमजोरी केलाउने जिम्मा नेता–कार्यकर्तालाई दिएका हुन् ।
कमजोरी केलाउने मात्र होइन, देखिएका त्यस्ता कमजोरी सुधार्ने कसरी ? त्यसको उपाय पनि केन्द्रीय कार्यालयलाई उपलब्ध गराउन प्रचण्डले निर्देशन गरेका छन् ।
७ दिनभित्र केन्द्रीय कार्यालयको इमेल ठेगानामा त्यस्तो सुझाव पठाउन उनले पार्टी नेतालाई परिपत्र गरेका हुन् । जेठ ५ मा प्रचण्डले पार्टी, जनवर्गीय संगठन, मोर्चा एवं सामुदायिक संगठन सम्बन्धि समग्र सुझाव सबै प्रदेश, केन्द्रीय निकाय र मोर्चा संगठनहरूलाई पठाउन भन्दै परिपत्र पठाएका हुन ।
प्रचण्डले ५ बुँदामा रहेर सुझाव मागेका छन् ।
क) पार्टी संगठनको नीति, विधि र पद्धतिको विकास र कार्यान्वयनको सम्बन्धमा विगतका कमी कमजोरी के के रहन गए र त्यसको समाधानका उपायहरू के के हुन सक्छन् ?
ख) पार्टीलाई आजको चुनौती सामना गर्न सक्ने गतिशील, जनप्रिय र क्रान्तिकारी पार्टी बनाउन के गर्नु पर्ला ?
ग) संगठनमा पात्र र व्यक्तिहरु छनौट गर्दा के कस्तो मापदण्डहरु अपनाउने ?
घ) संगठनलाई व्यवस्थित गर्न आर्थिक व्यवस्थापन कसरी गर्ने ? आचार र व्यवहारका सर्न्दभमा न्यूनतम पालना गर्नुपर्ने विषयहरू के के हुनसक्छन् ?
ड) जनपरिचालन र जनसंगठनको लागि के कस्तो विधि र उपाय अपनाउने ?
यसअगाडि वैशाख २० मा पनि पार्टीका केन्द्रीय सदस्यहरूसँग माग गरेका थिए । पार्टीको प्रस्तावित विद्यान स्थायी समितिले पारित गरेको र केन्द्रीय समिति बैठकबाट अनुमोदनको तयारीमा रहेको भन्दै त्यसबेला प्रचण्डले विधानमा केन्द्रदेखि सेल कमिटीसम्म रहने पार्टी कमिटीको संख्यासहित अन्य विषयमा सुझाव माग गरेका थिए ।
त्यसवेला प्रचण्डले निम्न सुझाव माग गरेका थिए ।
एक – पार्टी समितिहरु निर्माण गर्दा वा चयन गर्दा कुन विधि अपनाउने ? निर्वाचनबाट, मूल्यांकनबाट, दुवैलाई समायोजन गरेर वा अन्य कुनै विधिवाट ?
दुई – पार्टी समितिको कार्यकारी प्रमुखको पदमा रह्नको लागि उमेरको हद राख्ने वा नराख्ने, राख्नेभए कति राख्ने ?
– कार्यकालको सिमा राख्ने वा नराख्ने , राख्ने भए कति राख्ने ?
– केन्द्रीय समिति देखि तल सवै समितिहरुको कार्यकारी प्रमुखका लागि उपरोक्त प्रकारको सीमा राख्ने कि नराख्ने ? राख्ने हो भने एकै प्रकारको राख्ने की फरक फरक राख्ने ?
तीन – पार्टीलाई उत्पादनसँग जोड्न के गर्नुपर्दछ ? सहकारी र सामुहिक उत्पादन प्रक्रियालाई कुन रुपमा अघि वढाउन उपयुक्त हुन्छ वा सकिन्छ ?
चार – जिल्ला समितिहरुलाई साविक झै जिल्ला समितिका रुपमा रह्न दिने वा जिल्ला समन्वय समिति बनाउने ?
पार्टी पंक्तिमा प्रचण्डले एकपछि अर्काे परिपत्र गदै यसपटक सुझावमा केन्द्रीत हुन थालेका छन् । झण्डै तीन वर्ष एमालेसँग पार्टी एकता पछि छुट्टिएर पूनः माओवादी पार्टीलाई नै मजबुत बनाउनु पर्ने दवावमा रहेका प्रचण्डले अहिले पार्टीको विचार, राजनीति, संगठन, परिचालन लगायतका विषयमा नेता–कार्यकर्ताकै सुझावलाई पहिलो ग्राहयता दिन खोजेका हुन् ।
‘उहाँ (प्रचण्ड)ले यसपटक वढी नै सुझाव केन्द्रीत गर्न खोजिरहनु भएको छ, त्यही सुझावका आधारमा राजनीतिक प्रतिवेदन लेख्ने, संगठनात्मक नयाँ मोडेल तयार पार्ने काममा ध्यान खिच्न खोजिरहनुभएको छ,’ माओवादी केन्द्रका एक स्थायी समिति सदस्यले मेरोन्यूजसँगको कुराकानीका क्रममा बताए ।

केन्द्रीय समितिमा कसलाई राख्ने ?
पार्टीको केन्द्रीय समितिमा राख्नुपर्ने सम्भावित नामहरु पनि सुझावका रुपमा पठाउन पार्टी मातहात कमिटिलाई प्रचण्डले परिपत्रमार्फत माग गरेका छन् । प्रस्तावित विद्यानको मापदण्डमा रहेर सम्भावित नामहरु सुझावका रुपमा पठाउन उनले भनेका हुन् ।
यो नाम पनि ७ दिनभित्रै पठाउन परिपत्रमा भनिएको छ ।
उनले केन्द्रीय सदस्यका लागि मात्र होइन, केन्द्रीय सल्लाहकार, जेष्ठ कम्युनिष्ट मञ्च, विभिन्न केन्द्रीय आयोग, केन्द्रीय विभाग र राष्ट्रिय परिषद्का लागि प्रस्तावित विधान अनुसारको मापदण्डको आधारमा सम्भावित नामहरु सुझावको रुपमा निर्देशन गरेका हुन् ।
त्यस्तै, जनवर्गीय मोर्चा र सामुदायिक संगठनहरुको संरचना एवंम जिम्मेवारी सम्वन्धि सुझावहरु, विभिन्न तहका पदाधिकारीको सम्वन्धमा प्रस्तावित विद्यानमा कस्तो मापदण्ड राख्ने ? पार्टीलाई नयाँ जीवन कसरी दिन सकिन्छ ? पार्टीलाई सुढृढ , गतिशिल र जनतासँग जोडन कसरी सकिन्छ ? भन्नेमा पनि विशेष ध्यानमा राखी सुझाव पठाउन प्रचण्डले भनेका छन् ।
तर त्यस्तो सुझाव पठाउँदा सम्वन्धित प्रदेश समितिको सचिवालय र उक्त प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरु वीच विभिन्न माध्यममा आपसी छलफल गरेर केन्द्रीय कार्यालयमा पठाउन भनेका हुन् । त्यस्तै प्रदेश र जिल्ला पदाधिकारीको लागि सिफारिस गर्दा जिल्ला समितिको सचिवालय र उक्त जिल्लामा कार्यरत प्रदेश समिति सदस्यहरु वीच विभिन्न माध्यमवाट छलफल गरी प्रदेश समिति हुदै केन्द्रीय कार्यालयमा पठाउन भनिएको छ ।
जनवर्गीय संगठन, मोर्चा र सामुदायिक संगठनहरुले आफनो सुझाव फायक्सन इन्चार्ज, सहइन्चार्ज र केन्द्रीय समितिको सचिवालय वा सो सरहको सदस्यहरुको विभिन्न माध्यमवाट आपसी छलफल गरी केन्द्रीय कार्यालयमा पठाउन भनिएको छ ।
केन्द्रीय समितिको बैठक बस्दैं
माओवादी केन्द्रको आजै केन्द्रीय समितिको बैठक पनि बस्दैछ । ‘भर्चुअल’ माध्यमको साहरामा आइतबार साँझ ५ वजे केन्द्रीय समितिको बैठक वस्न लागेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयले जनाएको छ ।
यो बैठकमा भने राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्रीका सन्र्दभमा गरेको आह्रवान र लिएको निर्णय तथा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा भएको संसद विघटन र त्यसपछिको विकसित घटनाक्रमका बारेमा अध्यक्ष प्रचण्डले नेताहरुलाई विफ्रिङ गर्ने माओवादीको केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।
