
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूहले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेसँगै प्रदेश २ को राजनीति तरंगित बनेको छ ।
उपेन्द्र-बाबुराम पक्षधर जसपाको कार्यकारिणी समितिको बैठकले पार्टी अध्यक्ष महन्थ ठाकुर, नेताहरू राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआए पार्टीबाटै निष्कासन गर्ने निर्णयपछि प्रदेश २ को सत्ता समीकरण फेरबदल हुने निश्चितप्रायः भएको छ ।
जसपाको एकल सरकार रहेको प्रदेश २ मा ठाकुर र महतो पक्षधर मन्त्रीलाई हटाएर कांग्रेस, एमालेको माधव नेपाल समूह र नेकपा माओवादी माओवादी केन्द्र सम्मिलित गठबन्धनको सरकार निर्माणका लागि छलफल थालिएको छ ।
जसपा औपचारिक रूपमा विभाजित भए सत्ता सहकार्य सम्भव रहेको कांग्रेस, माओवादी केन्द्र र एमालेको नेपाल समूहले बताउँदै आएका छन् । ठाकुर-महतो पक्षधर भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल, राज्यमन्त्री डिम्पल झा, उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई हटाएर ती दलहरूसँग सत्ता सहकार्यको तयारी थालिएको जसपाका एक कार्यकारिणी सदस्यले जानकारी दिए ।
‘स्पष्टीकरण सोधिएका नेताले चित्तबुझ्दो जवाफ नदिए उहाँहरूलाई पार्टीबाट निष्कासन गर्ने निर्णय भएको छ । केन्द्रीय कार्यकारिणी समितिको बैठक नमान्ने मन्त्रीलाई पनि प्रदेश सरकारबाट हटाइनेछ,’ उनले भने । प्रदेश २ सरकारबाट हटाउने तयारी थालिएका मन्त्री सोनल, राज्यमन्त्री मण्डल र शर्मा महन्थ ठाकुरनिकट हुन् भने डिम्पल अनिल झाकी श्रीमती हुन् ।
विचार, भावना र संगठनिक नीति नमिल्नेसँग सत्ता सहकार्य हुनु अनिवार्य नरहेको भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री समेत रहेका कार्यकारिणी सदस्य योगेन्द्र राय यादव बताउँछन् । यद्यपि प्रदेशका मन्त्री हटाउने-नहटाउने विषयमा निर्णय नभइसकेकाले केही बताउन नमिल्ने उनको भनाइ छ । ठाकुर र महतोले पार्टीको पद्धति र विधान मिचेर मनपरीतन्त्र र छाडातन्त्र मच्चाएको उनको आरोप छ ।
गत ४ जेठमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले ८ र ९ जेठका लागि कार्यकारिणी समितिको बैठक तय गरे पनि शुक्रबार अचानक अध्यक्ष ठाकुरले कोरोनाको कारण देखाउँदै बैठक स्थगित भएको विज्ञप्ति जारी गरेका थिए । तर, लगत्तै अध्यक्ष यादवले अर्को विज्ञप्ति जारी गरी बैठक स्थगित नभएको र निर्धारित मितिमा नै बैठक हुने विज्ञप्ति जारी गरेका थिए ।
सोही निर्णय अनुसार बसेको उपेन्द्र-बाबुराम समूहको कार्यकारिणी समितिको बैठकमा ३१ जना भौतिक र तीन जना भर्चुअल रूपमा बैठकमा सहभागी भएको राज्यमन्त्री यादवले जानकारी दिए । ‘बालुवाटार, सिंहदरबार र रिसोर्टमा मिटिङ, विभिन्न दूतावास धाउँदा उहाँहरूलाई कोरोना लाग्दैन तर पार्टीको बैठक बस्दा कोरोना लाग्छ ? उनले प्रश्न गरे ।सिलापत्र
