राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ: “नेपालको संविधानको धारा ७६ को उपधारा (७) बमोजिम … नेपाल सरकार, मन्त्रिपरिषद्बाट मिति २०७८/२/८ मा निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम वर्तमान प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन संवत् २०७८ साल कार्तिक २६ गते शुक्रवार र दोस्रो चरणको निर्वाचन संवत् २०७८ साल मङ्सिर ३ गते शुक्रवार सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नु भएको छ।”

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को शुक्रवार राति बसेको आकस्मिक बैठकले प्रतिनिधि सभा विघटन र निर्वाचन गर्न सिफारिस गरेको प्रवक्ता पार्वत गुरुङले बताए।
मन्त्रिपरिषद्को बैठक राष्ट्रपति भण्डारीले ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा दुवैको प्रधानमन्त्री पदका लागि गरिएको दाबीमा बहुमत पुग्ने आधार नदेखिने भनी खारेज गरेपछि बसेको हो । ओली सरकारले प्रतिनिधिसभा विघटनको सिफारिस गरेको यो दोस्रो पटक हो। यसअघि सर्वोच्च अदालतले विघटनको सिफारिसलाई असंवैधानिक घोषणा गरेको थियो। bbc news

