
कोभिड-१९ का कारण पति गुमाएकी दैलेखकी भविसरा थापा प्रदेश सरकारले दिने भनेको राहत रकम वर्ष दिन बितिसक्दा पनि नपाएको गुनासो गर्छिन्।
“राहत दिने भनेर रेडिओबाट भनिसकिएकोले सरकारले ढाँटेको त नहोला नि,” उनी भन्छिन्।
“बरु चाँडै रकम दिएको भए श्रीमान्को काजकिरिया गर्दा लागेको ऋण तिर्ने थिएँ, बचेको पैसाले छोराछोरीलाई पढाउन सहयोग पुग्थ्यो कि?”
आवश्यक काजगपत्र बुझाइसकेको हुनाले ढिलै भए पनि राहत रकम पाइन्छ कि भन्ने आस लागिरहेको उनी बताउँछिन्।
भविसराका पतिलाई कर्णाली प्रदेशमा कोभिडका कारण ज्यान गुमाउने पहिलो व्यक्ति भएको मानिन्छ। बिबिसि नेपालीबाट
एक वर्षअघि कोरोनाभाइरस सङ्क्रमण भएपछि उनको ज्यान गएको थियो।
पीडितको आस मर्दै
प्रदेश सरकारले अहिलेसम्म पनि राहत दिन नसकेपछि कतिपय पीडित परिवार अब आस नै मर्न थालेको बताउँछन्।
कोभिड-१९ का कारण आफन्त गुमाएकी सुर्खेतकी लक्ष्मी रोकाय भन्छिन्, “राहत दिने भए त पहिले नै दिइहाल्थे, अब सायद दिँदैनन् होला। हाम्रो त आसै मरिसक्यो।”
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णाली प्रदेशमा कोभिड-१९ का कारण शनिवारसम्म २८९ जनाको मृत्यु भएको तथ्याङ्क छ।
तर प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट भाषणमार्फत् राहतस्वरूप दिने भनेको एक लाख रुपैयाँ अहिलेसम्म पनि नपाउँदा मृतकका आफन्तले असन्तुष्टि पोखेका छन्।
उनीहरू भन्छन्, “यदि राहत नै दिने हो भने तत्कालै दिनुपर्यो। नदिने हो भने किन हामीलाई आस मात्रै किन देखाउने?”
