
बाँकेको राप्तीसोनारी गाउपालिका ६ फत्तेपुरमा अस्थायी प्रहरी चौकीको लागि नयाँ भवन निर्माण गरी उद्घाटन संगै हस्तान्त्रण गरिएको छ । अस्थायी प्रहरी पोष्ट फत्तेपुर (ख) को भवन नहुँदा आफैं असुरक्षित हुँदाहुँदै नागरिकको सुरक्षामा खटिएको प्रहरीका लागि नयाँ भवन बनेपछि नागरिकको सुरक्षामा थप सहजता आउने विश्वास गरिएको छ ।
राप्तीसोनारी गाउँपालिका–६, फत्तेपुरमा अस्थायी प्रहरी पोष्ट, फत्तेपुर (ख)को नवनिर्मित प्रहरी भवन हस्तान्त्रण गर्दै गाउपालिकाका अध्यक्ष लाहुराम थारुले प्रहरीको आफ्नै भवन निर्माण भएपछि यस क्षेत्रको शान्ति सुरक्षा मजबुत हुनुका साथै समाजमा विश्वास कायम हुने विश्वास हुने बताए ।
प्रहरीका लागि नयाँ भवन बनेपछि जनताको सुरक्षा दिनको लागि सहज भएको बाँके प्रहरी प्रमुख ओमबहादुर रानाले बताए । बाढी जन्य जोखिमका साथै नरैनापुर जाने बाटो र खुला सिमाका कारण अत्यन्तै संवेदनशिल अवस्था रहेकोले गाउपालिकाको सहयोगमा आफ्नै भवन निर्माण गरी नागरिको ज्यानको सुरक्षा गर्न पाउदा प्रहरीको मनोबल उच्च रहेको प्रहरी प्रमुख एसपी रानाले बताए ।
यसअघि फत्तेपुर–६ को खल्ला टेपरीस्थित राप्तीनदी किनारमा रहेको सामुदायिक भवनमा असुरक्षित रुपमा बस्दै आएको थियो । राप्तीसोनारी गाउँपालिकाको ८ लाख रुपैयाँ र ६ वडापालिकाको ८ लाख रुपैयाँ गरी १६ लाख तथा बाँकी जनश्रमदान गरी कुन २७ लाख रुपैयाँमा प्रहरीका लागि नयाँ भवन निर्माण सम्पन्न भएको वडाध्यक्ष जनकराम थारुले जानकारी दिए ।
राप्तीसोनारी गउँपालिकाका अध्यक्ष लाहुराम थारु र बाँकेका प्रहरी प्रमूख एवं प्रहरी उपरीक्षक ओमबहादुर रानाले संयुक्त रुपमा नवनिर्मत प्रहरी चौकीको उद्घाटन गर्दै सो भवनको चापी अस्थायी प्रहरी पोष्ट फत्तेपुरका इन्चार्ज प्रहरी सहायक निरीक्षक जंगबहादुर एमएसीलाई हस्तानत्रण गरेका थिए ।

सो अवसरमा राप्ती सोनारी गाउपालिकाका उपाध्यक्ष धनिकुमारी खत्री, ईलाका प्रहरी कार्यालय भोजपुरका ईन्चार्ज प्रहरी निरिक्षक बसन्त गौतम, स्थानीय जनप्रतिनिधि, समाजसेवीलगायतको उपस्थिति रहेको थियो ।
