
काठमाडौंः नेकपा(एमाले)का राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेलले राजनीतिक विवादको समाधान अदालतबाट खोज्नु नहुने बताउनुभएको छ । बिहीवार राष्ट्रिय सभाको आठौं अधिवेशनको पहिलो बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य प्याकुरेलले शक्ति पृथकिकरणको सिद्धान्तलाई नबुझेर राजनीतिक विवादलाई अदालतमा लगिएको भन्दै राजनीतिक विवादलाई राजनीतिक रुपमै समाधान गर्नुपर्ने बताउनुभएको हो । राजनीतिक समस्याको समाधानको थलो न्यायपालिका नहुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘राजनीतिक विवादको अन्त्य राजनीतिक रुपमै गर्नु जरुरी छ । शक्ति पृथकीकरणको सिद्धान्त नबुझेर न्यायपालिकामा लगेको । न्यायपालिकामा हानी गर्न लागेको त्यसप्रति सचेत हुन जरुरी छ । राजनीतिक विवादको अन्त्य राजनीतिक रुपमै गर्नु आवश्यक छ । राजनीतिक विवादको अन्त्य हामीले अन्तबाट खोज्यौँ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अलग अलग जुन शक्ति पृथकिकरणको सिद्धान्तलाई नबुझीकन हरेक कुरोलाई न्यापालिकामा जसरी हामी लगिरहेका छौँ र न्यायापालिकालाई हानी गर्न जुन प्रयत्न भइरहेको छ । त्यसबाट सचेत हुन आवश्यक छ । प्रत्येक राजनीतिक समस्याको थलो न्यायपालिका हुन सक्दैन ।’
