ग्याससहित सबै इन्धनको मूल्य बढ्याे


नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित सबै इन्धनको मूल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको दाबी गर्दै निगमले ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँ, पेट्रोलमा २ रुपैयाँ, डिजेल र मटितेलमा २/२ रुपैयाँ बढाउने निर्णय गरेको हो ।े

गत असार १० गते राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ सय २७ रुपैयाँ बनाएको थियो । पुनः प्रतिलिटर २ रुपैयाँले बढाएर पेट्रोलको मूल्य १२९ रुपैयाँ पुर्‍याएको छ ।

‘भारतीय आयल कर्पोरेसन्स (आइओसी)ले जुलाई १ मा पठाएको नयाँ मूल्यसूची अनुसार १५ दिनमा १ अर्ब १० करोड रुपैयाँ घाटा हुने देखिन्छ । तसर्थ, स्वचालित मूल्य प्रणालीअनुसार मंगलबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनमा नयाँ मूल्य कायम गरेका छौं,’ निगमका प्रवक्ता बिनितमणि उपाध्यायले भने, ‘नयाँ मूल्यसूचीअनुसार प्रतिसिलिण्डर ग्यासमा २५ रुपैयाँ बढाएर १४ सय २५ रुपैयाँ, पेट्रोलमा २ रुपैयाँ वृद्धि गरेर १ सय २९ रुपैयाँ, डिजेल र मटितेलमा २/२ रुपैयाँ वृद्धि गरेर १ सय १२ रुपैयाँ कायम गरेका छौं ।’

यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले बढाएर ८४ रुपैयाँ, हवाई इन्धन (अन्तर्राष्ट्रिय) को प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ डलर पुर्‍याएको छ ।

गत जेठ २२ गते निगमले पेट्रोल, डिजेल/मटितेल तथा हवाई इन्धन (आन्तरिक)को साबिकको बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको थियो । निगमले भविष्यमा अझै मूल्य बढ्न सक्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *