
नेकपा(एमाले)का प्रवक्ता प्रदिपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले निर्दलीय प्रणाली जस्केलाबाट छिर्न थालेको आभाष भएको बताउनुभएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा(एमाले)को स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरु सँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले ३२ वर्ष अगाडी हामीले समाप्त गरेको निर्दलीय प्रणाली जस्केलाबाट छिर्न थालेको आभाष हामीलाई भएको बताउनुभएको हो । उहाँले आजको बैठकमा उपस्थित उपलब्ध स्थायी कमिटी सदस्यहरुले राज्यका तिनवटा अंगहरु विचको शक्ति सन्तुलनलाई हल्लाईदिने काम गरेको साझा निष्कर्ष निकालेको प्रवक्ता ज्ञवालीले बताउनुभयो । अदालतको फैसला अप्रिय र त्रुटीपूर्ण भएपनि फैसला कार्यान्वयन भने गर्ने उहाँले बताउनुभयो । प्रवक्ता ज्ञवालीले सरकार संसदमा उपस्थित दलले बनाउने र राष्ट्रपति कार्यालयबाट त्यसको विधिवत् घोषणा गर्ने भएपनि आजको फैसलाबाट प्रधानमन्त्री सर्वोच्च अदालतले नियुक्त गर्नुपर्ने जस्तो कल्पना भन्दा बाहिरको अभ्यासको सुरु भएको पनि बताउनुभयो । पार्टी स्थाइ कमिटिको बैठक भोली पुनः बस्ने प्रवक्ता ज्ञावलीले जानकारी दिनुभयो ।
