नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले पार्टी फुटाउने र केपी शर्मा ओली सरकारविरूद्ध मुद्दा लड्नेले मेडल पाएको बताएका छन्।
‘हाम्रो पार्टीको सरकारको विरूद्धमा, केपी ओलीको सरकारको विरूद्धमा मुद्दा लगाउने साथीहरूले मेडल पाउनुभएछ। सँगसँगै परमादेशबाट सरकार स्थापित भएको घोषणा गर्ने अदालतका सम्बन्धित न्यायाधीशहरू र त्यो सरकारको विरूद्धमा मुद्दा दर्ता गर्ने मुद्दावालाहरू त्यसका पक्षहरू, उहाँहरूले मेडल पाउनुभएछ।
उनले भारतमा रहेर पनि पार्टी फुटाउन भूमिका खेलेका एक जनाले पनि मेडल पाएको बताए। उपचारका लागि झलनाथ खनाल भारतमा थिए, त्यसबेला नेकपा एमाले विभाजित भएको थियो।
नेम्वाङले खनाललाई लक्षित गर्दै भारतमा रहेका एक नेता भनेका थिए।
‘एक जना साथी दिल्लीमा हुनुहुन्थ्यो। दिल्लीबाटै पार्टी फुटाउन भूमिका खेल्नुभयो उहाँले मेडल पाउनुभएछ। दुई जना नेताहरू यहीँ क्रियाशील हुनुहुन्थ्यो उहाँहरूका परिवारका महत्वपूर्ण सदस्यले मेडल पाउनुभएछ,’ उनले भने, ‘म व्यक्तिगत रूपमा टिप्पणी गर्दिनँ। पार्टी र सरकारको विरूद्धमा मुद्दा लगाउने साथीहरूले मेडल पाउनुभएछ।

