
नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले शुक्रबार अध्यादेशबाट बजेट ल्याएका छन् । बिहिबार प्रदेश सभाबाट बजेट पास गर्न नसकेपछि मध्यरातमा अधिवेशन अन्त्य गरिएको थियो । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले जानकारी दिए । ्मन्त्रिपरिषदले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख धर्मनाथ यादवले अर्थ र विनियोजन अध्यादेश जारी गरेका हुन् । ‘असार १ गते प्रदेश सभामा पेश गरेको बजेट जस्ताको तस्तै अध्यादेशमार्फत ल्याइएको प्रवक्ता चौधरीले बताए । सरकारले आर्थिक वर्ष २०७८÷७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट प्रदेश सभामा पेश गरेको थियो । जसमा चालूतर्फ १४ अर्ब ९३ करोड र पुँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । बजेटको धेरै हिस्सा स्वास्थ्य, कृषि र पर्यटन केन्द्रित छ । तर बजेट पारित गर्न सरकारसँग बहुमत नपुगेपछि बिहीबार सत्ता पक्षले नै प्रदेश सभा बैठक बहिस्कार गरेर हिंडेको विपक्षी गठबन्धनको आरोप छ । प्रकृयामा गइसकेको बजेटलाई बिचैमा अलपत्र पारेर अल्पमतको सरकारले अध्यादेशबाट बजेट ल्याए सशक्त प्रतिवाद गर्ने घोषणा विपक्षी दलहरुले बिहिबार नै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिसकेका छन् ।
