सुनसरीको देवानगञ्ज गाउँपालिकाका बासिन्दा बाँदरको उपद्रोले आजित भएका छन् । गाउँपालिकास्थित दक्षिणी बस्तीका बासिन्दाहरु दुई वर्षयता बाँदरबाट त्रस्त र आजित भएका हुन् ।खेतबारीमा लगाइएका बालीनाली बाँदरले नाष्ट गर्नुकासाथैै भान्सा कोठा भित्रका खानेकुरा समेत खाईदिने तथा मानिसहरुलाई आक्रमण गर्न थालेपछि स्थानीयवासी बाँदर आतंकबाट त्रसित बनेका हुन् ।
देवानगञ्ज गाउँपालिकाको वडा ४ दक्षिणीबस्ती कप्तानगञ्जमा प्रवाशी बाँदरहरुले स्थायी आवासको रुपमा उक्त क्षेत्रलाई प्रयोग गर्न थमालेपछि स्थानीयवासीलाई सास्ती भएको हो । दुई वर्षअघि झन्डै २ सयको संख्यामा गाउँ भित्रिएको बाँदरहरुले सागसब्जी र अन्नबाली खाईदिने तथा खेदाउने क्रममा मानिसहरुलाई समेत आक्रमण गरेर घाईते बनाउन थालेको स्थानीय सुरेन्द्र मेहताले बताउनुभयो ।
बाँदरले यतिबेला खेतमा लगाइएका बालीहरु मात्र नष्ट गरेका छैनन्, स्थानीयको भान्सामा पसेर पकाइएका खानेकुराहरु समेत खाइदिने र आक्रमण गर्ने गरेको कप्तानगञ्जका ७० वर्षीय मुंगालाल मेहताले बताउनुभयो । आँगनमा सुकाइएका लसगाफाटो च्यातिदिने र मानिसहरुलाई चिथोरेर घाईते बताउने समेत गरेको उहाँले बताउनुभयो । उपद्रो बढदै गएपछि बाँदर धपाउन स्थानीयले गरेका अनेकौँ प्रयास असफल भइरहेको बरु उल्टै बाँदरले आक्रमण गरेर घाइते भएको स्थानीय रमेश मेताले बताउनुभयो ।


