हिरासतभित्र पासो लगाएको अवस्थामा थुनुवा मृत


धनुषा जिल्ला प्रहरी कार्यालयको हिरासतमा एक जना थुनुवाको मृत्यु भएको छ।

लक्ष्मीनिया गाउँपालिका २ सिनुरजोडाका अन्दाजी ४२ वर्षीय पल्टु रविदास हिरासतको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेका हुन्।

उनी आफ्नै गन्जीको पासो लगाएको अवस्थामा मृत भेटिएको धनुषा जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार आज बिहान साढे ४ बजेतिर रविदास शौचालयको भेन्टिलेसनमा पासो लगाई झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्।

प्रहरीका अनुसार भाइसँगको विवादमा ज्यान मार्ने उद्योग तथा अंगभंग मुद्दामा उनी पक्राउ परेका थिए। धनुषा जिल्ला अदालतले उनलाई २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिए पनि रकम बुझाउन नसक्दा उनी कारागारमै रहन बाध्य भएका थिए।

सिन्धुली कारागार पठाउने तयारी भइरहेका बेला उनी हिरासतमै मृत भेटिएको प्रहरीको भनाइ छ।

मृतकका परिवारले भने उनको हत्या गरिएको दाबी गरेका छन्। घटनाको सूक्ष्म अनुसन्धान गर्न माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *