मागेजति दिए कमाल,नदिए बन्धकः लाज जति तिनाउमा स्वाहा…


जनआस्था । हप्ता दिन एमालेमा बसी माओवादीमै फर्किएकी लुम्बिनी प्रदेशसभा सदस्य बिमलाकुमारी वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलले सरकारी निवासमा बन्धक बनाएको आरोप लगाएकी छन् । सांसद वलीको आरोपमा कुनै सत्यता नभएको नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रतिक्रिया समेत जनाइसकेका छन् ।

मुख्यमन्त्री पोखरेलसँग भेट गराइदिन पटकपटक आग्रह गरेपछि ढकालले वातावरण मिलाइदिएको भनिएको छ । वलीलाई आफ्नो सांसद दाबी गर्दै आएको एमालेले उनका लागि स्पष्टीकरण पत्र तयार पारेको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रबाट पठाएको स्पष्टीकरण पत्र लिएर गत साउन १५ गते दाङ पुगेका प्रमुख सचेतक ढकालसँगै सांसद बिमलासमेत बुटवल आएकी थिइन् ।

बुटवल आई मुख्यमन्त्रीसँग भेटवार्ता गरेकी वलीले एमालेमै भएको मात्रै बताइनन्,आफूले पूर्वसभामुख तथा माओवादी नेत्री ओनसरी घर्ती र प्रदेश सांसद सुदर्शन बरालमार्फत् ५५ लाख लिएको स्वीकार समेत गरिन् ।सांसद वलीलाई माओवादी प्रमुख सचेतक तुलाराम घर्तीले खाजा खर्चका लागि ५० हजार दिएको समेत उनले मुख्यमन्त्री कार्यालयमा सुनाइन् ।मुख्यमन्त्री कार्यालय पुगेपछि सांसद वलीले एमाले नेताहरूलाई पहिलो सर्त राखिन्– माओवादी नेत्री घर्ती र बरालले दिएको ५० लाख र तुलारामले दिएको ५० हजार फिर्ता गरिदिनुपर्छ ।

उनले आफूलाई पछिल्लो समय आर्थिक समस्या भइरहेको हुँदा ३०–४० लाख पनि दिनुपर्ने जिकिर गरेकी थिइन् ।एमाले नेताहरूले पैसाको कुरा सुनेपनि नसुनेझैँ गरे । पटक–पटकको आग्रहपछि मुख्यमन्त्री कार्यालय पुगेकी उनले पटकपटक आर्थिक संवाद गरेको स्रोतले बताएको छ । करोड हाराहारीको आर्थिक जुटाउन नसक्ने एमाले नेताहरूले स्पष्ट पारेपछि बुधबार बिहानै सांसद वली मुख्यमन्त्री निवासबाट निस्केको बताइन्छ । उनले मुख्यमन्त्री कार्यालयबाट माओवादीनिकट ठेकेदार एकराज बस्नेतको सम्पर्कमा पुगेपछि मन फेरेको एमाले नेताहरू बताउँछन् ।एमाले लुम्बिनी प्रदेशसभाका एक सदस्य भन्छन्,‘मागेजति पैसा दिए कमाल,नदिए बन्धक,यस्तो लाजमर्दो पनि हुन्छ ! कहाँ गयो सांसदको नैतिकता तिनाउ खोलाले बगायो । अझ दिउँसै सांसद किन–बेच गर्नेको रोइलो !’-नृप भुसाल २५ श्रावण २०७८, सोमबार १०:३६ प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *