
काठमाडौंः नेकपा (एमाले)की सांसद डा. विमला राई पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले फुटेपछि मात्रै मन्त्री परिषद् विस्तार गर्न खोजेको बताउनुभएको छ ।
आईतबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले सबैभन्दा ठूलो पार्टी कहिले फुट्ला र फुटेपछि मन्त्रीपरिषदमा समावेश गरौंला भनेर प्रधानमन्त्री देउवाले पर्खेर बसिरहेको बताउनुभएको हो ।
उहाँले भन्नु भयो, ‘सबैभन्दा ठूलो पार्टी कहिले फुटला र फुटेपछि मेरो सरकार टिकाउन मन्त्रीपरिषदमा ज्वाईन गराउला भनेर पर्खेर बस्ने प्रधानमन्त्री हो ? यति कमजोर प्रधानमन्त्री । चिन्ता शेरबहादुर जी कमजोर हुनु भो भनेर होइन्, चिन्ता फेरी संसदीय व्यवस्था कमजोर हुन्छ भन्ने हो । यो व्यवस्थालाई कमजोर बनाउने काम नगर्न प्रधानमन्त्रीलाई मेरो अनुरोध छ ।
’ सांसद पौडेलले राजनीतिक संयन्त्र बनाउने हल्ला चलिरहेको भन्दै त्यसको बन्धक नबन्न पनि प्रधानमन्त्री देउवालाई आग्रह गर्नु भयो । उहाँले केपी ओली नेतृत्वको सरकारलाई अप्ठयारोमा पार्न पनि त्यस्तै खालको राजनीतिक संयन्त्रको मागले भएको दावी गर्दै उहाँले अहिले पनि सरकारलाई कमजोर बनाउन सो प्रयास गरिएको उल्लेख गर्दैै त्यसको बन्धक नबन्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनु भयो ।
