
कतिपय किसानलाई आफुले लगाएको वाली तथा पशुपंक्षिमा देखिएको समस्या नियन्त्रण गर्न सामान्य प्राविधिक ज्ञान पनि नहुँदा बर्षेनी लाखौ क्षति व्योहोर्नु परेको छ । कुन समयमा कुन रोग लाग्छ, विषादी कतिमात्रामा कसरी प्रयोग गर्ने भन्ने बारेमा जानकारी नहुँदा अरु जान्नेमान्नेकै भर पर्नुपर्ने छ । समय अनुसार रोग किरा नियन्त्रण गर्न नसक्दा किसानले सोचे जति आम्दानी लिन सकिरहेका छैनन ।
भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं ९ का कुल बहादुर नेङवाफुकी सहकारीकर्मी हुन । उनी विभिन्न समुह तथा सहकारीमा आवद्ध भएर ्भक्तपुरका किसानको कृषि पेशामा देखिएका समस्याहरु स्थानीय तहसम्म पु¥याउने काम गर्नुृहुन्छ । परम्परादेखि कृषिलाई मुख्य आयआर्जनको रुपमा लिदै आएका किसान होस या नयाँ योजना बोकेर कृषिमा लागेका युवा होस्, कृषिलाइ उत्पादनमुखी बनाउन, मनग्य आम्दानी लिन र गुणस्तरीय उत्पादनका लागि किसानमा पनि प्राविधिक ज्ञान हुन आवश्यक रहेको उनको भनाइ छ । तर कतिपय किसानमा त्यो ज्ञान नहुँदा बर्षेनी लाखौ क्षति व्योहोर्नु परेकोले स्थानीय तहले किसानलाई प्राविधिक ज्ञान पनि दिन आवश्यक रहेको उनले बताए ।
स्थानीय सरकार सञ्चालन ऐनमा प्रत्येक स्थानीय तहमा अनिवार्य एकजना कृषि प्राविधिक हुनुपर्ने व्यवस्था छ । कतिपय स्थानीय तहले वडामा समेत कृषि प्राविधिकको व्यवस्था गरेका छन भने कतिपय स्थानीय तहमा त्यो व्यवस्था हुन सकेको छैन । र, भएका स्थानीय तहका कृषि प्राविधिकहरु पनि कम सङख्यामा रहेका कारण एउटै प्राविधिकको भरमा बस्नुपर्ने बाध्यता छ । किसानले आफ्नो समस्या राखेपनि समयमै काम नहुने हुँदा स्थानीय तहसमक्ष समस्या राख्ने कि नराख्ने भन्नेमा किसान अन्योलमा परेको नेङवाफुकीको भनाइ छ ।
स्थानीय तहका वार्षिक नीति तथा कार्यक्रममा प्राथमिकतामा पर्ने मध्येको एक विषय कृषि पनि हो । कृषिमा अनुदान, कृषि पकेट क्षेत्र, कृषि औजार वितरण लगायतका कार्यक्रमहरु प्रत्येक वर्ष स्थानीय तहमार्फत सञ्चालन हुन्छन । यस्तै कृषकहरुलाई प्रभावकारी रुपमा प्राविधिक ज्ञान पनि दिने हो भने एउटै प्राविधिकको भर परेर बस्नुपर्ने अवस्था को अन्त्य हुने थियो ।
