राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरिय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच अपरिहार्य रहेको बताउनुभएको छ ।
सोमवार बीपी कोइराला स्मृति क्यान्सर अस्पताल भरतपुरमा सेवा गर्न आएका चिनियाँ डाक्टरहरुको टोलीलाई बिदाई सम्बोधन गर्नुहुदै राष्ट्रपति भण्डारीले नेपाल जस्तो विकासशील राष्ट्रमा स्रोत साधन तथा सक्षम जनशक्ति प्राप्त गरी क्यान्सर बिरामीको लागि समर्पित गर्नु गराउनु अझै पनि चुनौतिको विषय भएको भन्दै गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच हुनुपर्ने बताउनुभयो ।
उहाँले क्यान्सर रोग मानव जीवनका लागि विश्वव्यापी चुनौतिको रूपमा देखा परेको उल्लेख गर्नुभयो । राष्ट्रपति भण्डारीले वातावरण प्रदुषण, बिषादीयुक्त खाद्य पदार्थ, सुर्ती तथा मादकपदार्थ सेवन लगायतका अस्वस्थ जीवनशैली नै क्यान्सर रोगको कारक रहेको बताउनुभयो । राष्ट्रपति भण्डारीले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई राष्ट्रिय क्यान्सर प्रतिष्ठानको रूपमा विकास गर्ने अस्पतालको लक्ष्य प्रति खुसी पनि व्यक्त गर्नुभयो ।

