एमालेको ‘तेस्रो धार’ ले पार्टी एकताको धारणा सार्वजनिक गर्दै


काठमाडौँ — एमालेको एकता बचाउन भन्दै बनेको तेस्रो समूहले आज विवाद समाधानको विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । सो समूहको धारणा निर्माण गर्नका लागि केन्द्रीय सदस्य तथा सांसदहरूको बैठक महाराजगञ्जमा बस्दैछ ।

पार्टीभित्रको आन्तरिक बिबादमा माधवकुमार नेपाललाई साथ दिँदै आएका तर नयाँ दल निर्माणमा सहभागी नभएका उनीहरूले आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् ।

सो समूहका ९ जना स्थायी कमिटीको सदस्यहरूको बिहीबार बैठक बसेर एकताबारे धारणा सार्वजनिक गरेको थियो ।

‘एमालेको एकता बचाउने प्रयास हो । हिजो स्थायी कमिटीका नेताहरूले बसेर एक प्रकारको धारणा बनाउनु भएको छ । त्यसलाई आज केन्द्रीय सदस्य तथा सांसदहरुबीच छलफल गरेर वक्तव्यमार्फत सार्वजनिक गर्ने छौं,’ केन्द्रीय सदस्य ठाकुर गैरेले भने ।

बिहीबार मात्रै स्थायी कमिटीका नौ जना सदस्यहरूले संयुक्त विज्ञप्ति जारी गर्दै माधवकुमार नेपालसहितका १४ सांसदमाथि गरिएको कारवाही फिर्ता लिनका लागि अध्यक्ष ओलीलाई र नयाँ पार्टी गठनको प्रक्रिया रोक्नका लागि माधवकुमार नेपाललाई आग्रह गरेका थिए ।

यसरी विज्ञप्ति जारी गर्नेमा उपाध्यक्षहरू भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उप(महासचिव घनश्याम भुसाल, सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका थिए ।

सो समूहको छलफलमा ४० जनाभन्दा बढीको केन्द्रीय सदस्य तथा सांसदहरूको सहभागीता रहने गैरेले बताए । एमालेभित्र आन्तरिक बिबाद उत्कर्षमा पुगेपछि पूर्वप्रधानमन्त्री नेपालले नेकपा एमाले समाजवादी नामको नयाँ दल खोल्ने प्रक्रियामा सुरु गरेका छन् ।

ओलीले नेपालसहित १४ सांसदमाथि कारवाहीका लागि संसद सचिवालयमा निवेदन दर्ता गरेका छन् ।कान्तिपुरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *