ईलाका प्रहरी कार्यालय कोहलपुरले साउनी कार्कीको हत्या आरोपमा एक युवकलाई सार्वजनिक गरेको छ । हत्या भएको ३७ दिनपछि कोहलपुर प्रहरीले हत्या आरोपीलाई सोमवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
८२ वर्षीया साउनीको गत साउन २ गते राती कोहलपुर नगरपालिका, ११ एकतानगरमा रहेको आफ्नै घरमा नै सुतिरहेको अवस्थामै हत्या भएको थियो । २ गते साँझ घरमा कोठामा सुतेकी साउनी ३ गते बिहान हत्या गरिएको अवस्थामा फेला परेपछि । करिब तीन साता लामो अनुसन्धान पश्चात कोहलपुर प्रहरीले आरोपीतलाई नियन्त्रणमा लिएको थियो ।
हत्या आरोपमा पक्राउ पर्नेमा कोहलपुर नगरपालिका, १२ चप्परगौडीका ३४ वर्षीय चाईनिज भनिने सन्तोष कुमार थापा रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रबिन्द्र खनालले जानकारी दिए ।
हामिले घटनालाई गम्भीरतापूर्वक लिएर सुरुदेखि नै सुक्ष्मरुपमा अनुसन्धान थालेका थियौं’ उनले पत्रकार सम्मेलनमा भने, ‘सबै कोणबाट गरिएको अनुसन्धानले पक्राउ परेका आरोपीतको संग्लनता देखियो । सोही कारण हामिले आज सार्वजनिक गरेका हौं ।’
पक्राउ परेका थापाले साउनीको घरबाहिर रहेको धाराको ह्याण्डिल निकालेर टाउकोमा हानेर हत्या गरेको अनुसन्धानबाट खुलेको डिएसपी खनालले जानकारी दिए ।
हत्या पश्चात उनको साथमा रहेका केही गरगहना र केही नगद समेत लिएर गएको अनुसन्धान क्रममा पक्राउ परेका थापाले बताएको प्रहरीले जनाएको छ । हत्या आरोपीत थापा यसअघि पनि चोरी, कुटपिट लगायतका घटनाहरुमा संग्लन रहेको खुलेको डिएसपी खनालले बताए ।
यसअघि समेत विभिन्न अपराधिक घटनामा संग्लन रहेको खुल्न आएको छ’ उनले भने, ‘उनी अहिले मदिराका साथै लागु औषध प्रयोग गर्ने गरेको देखियो । घटना गराउन समेत मदिरा र लागु औषध खाएर गएको अनुसन्धानबाट देखिन्छ ।’
प्रहरीले हत्यामा प्रयोग गरिएको धाराको हत्था (ह्याण्डिल), हत्था खोल्न प्रयोग भएको रेन्ची, हत्या गर्दाका बखत प्रयोग भएको कपडा समेत प्रहरीले प्रमाणको रुपमा बरामद गरेको छ । हत्या पश्चात लुटिएको सुनको गहना जन्तर भारतको रुपैडियाका राकेश बर्मालाई ७ हजार ५ सयमा बिक्रि गरेको थापाले स्वीकार गरेको डिएसपी खनालले जानकारी दिए ।
प्रहरीले गम्भीरतापूर्वक लिएको यो घटनाको अनुसन्धानको लागि कोहलपुर प्रहरीलाई जिल्ला प्रहरी कार्यालय बाँके र लुम्बिनी प्रदेश कार्यालय दाङले सहयोग गरेका थिए । यहाँको टोलिलाई सहयोग गर्नको लागि प्रहरी प्रधान कार्यालयले एक डिएसपीको कमाण्डमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को एक टोलि कोहलपुर पठाएको थियो ।
हत्याको अनुसन्धानमा खटिएका प्रहरीका छुट्टा छुट्टै टोलिले एक सय भन्दा बढी व्यक्तिसँग सोधपुछ, एक हजार बढी मोबाइल नम्बरहरुको विश्लेषण, गरिएको थियो।
केही दिनमा नै पक्राउ परेका आरोपीत थापालाई सरकारी वकिलको कार्यालयमार्फत अदालतमा पेश गरिने ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

