काठमाडौं, भाद्र ०९ गते । साओमीले आफ्नो नयाँ स्मार्टफोन ‘रेड्मी नोट–१०’को उत्पादन बन्द गरेको छ। साओमी इन्डोनेसियाले ‘रेड्मी नोट–१०’ स्मार्टफोनको उत्पादन रोकेको खुलासा गरेको हो।
र आफ्ना उपभोक्ताहरुलाई यसबाहेक यही लाइनअपका अन्य स्मार्टफोन किन्न कम्पनीले आग्रह गरेको छ। चिपसेट अभावका कारण कम्पनीले यो निर्णय लिएको जानकारी गराएको छ।
सिएनबीसी इन्टरनेसनलका अनुसार बजारमा चिपसेटको अभाव हुन थालेपछि साओमीले ‘रेड्मी नोट–१०’को उत्पादन बन्द गरेको हो र अब यो समस्या अन्य स्मार्टफोन कम्पनीहरुमा पनि देखिन सक्ने अनुमान छ। रेड्मी नोट–१०’ स्मार्टफोन स्न्यापड्रैगन ६७८ चिपसेटले बनेको छ र यसमा ४८ मेगापिक्सलको मुख्य क्यामरा छ।
ब्राइट ओएलइडी डिस्प्ले भएको यो फोनको खास विशेषता भनेको यसमा पाँच हजार एमएएचको ब्याट्री पावरसाथ ३३ वाटको फास्ट चार्जिङ उपलब्ध छ। फोनका यिनै फिचरका कारण इन्डोनेसियामा यसको बिक्री छिटो भएको थियो। जसले गर्दा उत्पादनको माग अझै बढ्न थाल्यो। तर, अब भने उपभोक्ताले यो स्मार्टफोन किन्न मुस्किल हुने जिएसएम एरेनाले जनाएको छ।

