ग्रिजम्यान आफ्नो पुर्व क्लब एट्लेटिको फर्किएका हुन् । ग्रिजम्यान सन् २०१९ मा १२० मिलियन युरोमा क्याटलान क्लब बार्सिलोना पुगेका थिए । तर, दुई वर्षपछि नै ग्रिजम्यान एट्लेटिको लोनमा फर्किएका हुन् ।
बार्सिलोनाका सदावहार फरवार्ड लियोनेल मेस्सी अगस्टको सुरुमै पेरिस सेन्ट जर्मेन (पीएसजी) प्रस्थान गरेपछि ग्रिजम्यानलाई सेन्टर फरवार्डको जिम्मेवारी मिल्ने संकेत मिलेको थियो । यसै समरमा आबद्ध भएका डर्च फरवार्ड मेम्फिस डिपाएले उच्च प्रदर्शन गरेपछि ग्रिजम्यानले क्लब छाड्ने निर्णय गरेको आँकलन गरिएको छ ।
मेस्सीले बार्सिलोना छाडेपछि ग्रिजम्यान नै क्लबमा सर्वाधिक कमाउने खेलाडी रहेका थिए । क्लब आर्थिक रुपमा कमजोर भएपनि ग्रिजम्यानले आफ्नो तलब घटाउन मानेका थिएनन् । त्यसैले पनि बार्सिलोनाले उनलाई अन्यत्र पठाउने तयारी गरेको थियो ।
बार्सिलोनाले अन्तिम दिन डिफेन्डर एमर्सन रोयल र मिडफिल्डर इलाइस मोरिबालाई पनि बेचेको छ । एमर्सन २५ मिलियन युरोमा टोटेनहम जाँदा मोरिबालाई २२ मिलियनमा आरबी लाइप्जिगमा बेचेको हो । यसबाहेक क्लबले कप्तानद्वय सर्जियो बुस्केट्स र जोर्डी अल्बासँग तलब घटाउन सहमति गरेको छ । यो सहमतिसँगै अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरोलाई क्लबले औपचारिक रुपमा दर्ता गरेको छ ।

३० वर्षीय ग्रिजम्यानलाई बार्सिलोनाका समर्थक र प्रशिक्षक रोनाल्ड कोम्यानले पनि खासै रुचाएको पाइदैन । प्रशिक्षक कोम्यानले ग्रिजमनको बचाउगर्दै उनीजस्तो खेलाडीको कहिल्यै आलोचना हुन नसक्ने बताएका छन् । एट्लेटिकोले यो महिनाको सुरुवातमा ग्रिजम्यानलाई फर्काउने योजना रहेको बताएको थियो ।
ग्रिजम्यानले एट्लेटिकोसँग एक सिजनका लागि लोनमा हस्ताक्षर गरेका छन् । बार्सिलोनाले ग्रिजम्यानलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गर्नको लागि पनि विकल्प छोडेको छ । बार्सिलोनाले क्लबमा रहेको आर्थिक मन्दीका कारण पनि खेलाडी कटौती गरेको हो ।
एट्लेटिकोमा लुइस सुआरेज, जोआओ फेलिक्स र एन्जल कोरेआका साथै म्याथिअस कुन्हा आक्रमणमा रहँदा ग्रिजम्यानले अब उक्त स्थानको लागि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ।

