१६ वर्षीया सुस्मिता ऋषिदेवलाई बूढीगङ्गा गाउँपालिकाको अध्यक्ष बनाइँदै


१६ वर्षीया सुस्मिता ऋषिदेवलाई आज (मङ्गलबार) एक दिनका लागि मोरङको बूढीगङ्गा गाउँपालिकाको अध्यक्ष बनाइने भएको छ । 

उनलाई ५७ औँ राष्ट्रिय बाल दिवसका अवसरमा एक दिनका लागि गाउँपालिका अध्यक्ष बनाउने लागिएको हो । उनले मङ्गलबार गाउँपालिका प्रमुखले गर्ने सम्पूर्ण काम गर्नेछिन् । 

स्थानीय सरकार के हो र यसले कसरी काम गर्छ भन्ने अनुभूति बालबालिकाहरुलाई दिलाउने उद्देश्यले बालिकालाई एक दिने जिम्मेवारी दिएर गाउँपालिका प्रमुख बनाउन लागिएको राष्ट्रिय बालअधिकार परिषद् प्रदेश १ का समन्वय अधिकृत सुमन अधिकारीले बताए । उनका अनुसार बालबालिकामा नेतृत्व विकासको अभ्यास गराउने र राष्ट्रिय बाल दिवसलाई नेपालमा नै फरक र नवीन रूपमा मनाउने योजना अनुसार कार्यक्रम तय गरिएको हो । भदौ २९ गते गाउँपालिकाको नेतृत्वमा बालबालिका भन्ने कार्यक्रम गर्न लागिएको उनले बताए । 

अधिकारीका अनुसार नेपालको संविधानले व्यवस्था गरेको तीन तहको सरकारमध्ये घरगाउँको सरकारको रूपमा रहेको स्थानीय तहको सरकारले बालबालिकाका विषयहरुलाई कसरी सम्बोधन एवं व्यवस्थापन गरिरहेको छ र बालबालिकाहरूले आफ्नो स्थानीय तहलाई कसरी बुझेका छन्, गाउँपालिकाको नेतृत्वले कसरी काम गर्छन् भन्ने विषयलाई बालबालिका स्वयंलाई अनुभूत गराउने कार्यक्रमको उद्देश्य हो । गाउँपालिका अध्यक्षको भूमिकामा बालबालिकालाई राखेर अनुभव आदानप्रदान गर्ने महत्वपूर्ण मञ्चको रूपमा भदौ २९ गते ‘गाउँपालिकाको नेतृत्वमा बालबालिका’ भन्ने  कार्यक्रम गरिने उनको भनाइ छ । 
 
बूढीगङ्गा गाउँ कार्यपालिकाको सोमबार बसेको बैठकले राष्ट्रिय बालदिवसका दिन गाउँपालिकाभित्र बसोबास गर्ने एक बालिकालाई आर्थिक र प्रशासनिक अधिकारबाहेक साङ्केतिक रूपमा गाउँपालिकाको अध्यक्ष बनाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार मङ्गलबार बिहान १० बजे गाउँपालिका अध्यक्षबाटै सुस्मिता अध्यक्षका लागि छनोट हुनेछिन् । 

गाउँपालिका अध्यक्षको जिम्मेवारी प्रदान गरिएको प्रमाणपत्र दिएर उनलाई अध्यक्षको पदभार ग्रहण गराइने कार्यक्रम रहेको अधिकारीले बताए । उनले भने, ‘पदभार ग्रहणपश्चात गाउँकार्यपालिकाको बैैठक राख्ने र बालबालिकासम्बन्धी केही निर्णय प्रमुख प्रशासकीय अधिकृतको सहजीकरणमा गरिने छ ।’

कार्यपालिकाको बैठकपछि नजिकको एक विद्यालय र एक स्वास्थ्य चौकीको अनुगमन गर्ने र अनुगमनपछि गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधिहरु समेतको उपस्थितिमा छलफल एवम् अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरिने छ । कार्यपालिकाको बैठक सञ्चालन र धन्यवादसहित निर्वाचित अध्यक्ष बालचन्द्र माझीलाई बालिकाले जिम्मेवारी हस्तान्तरण गर्ने अधिकारीले बताए । कार्यक्रमको सहजीकरण राष्ट्रिय बालअधिकार परिषद्ले गर्ने र  व्यवस्थापन तथा समन्वय बाल हेल्पलाइन मोरङ र प्रदेश बालबालिका खोजतलास तथा संरक्षण केन्द्रले गर्ने अधिकारीको भनाइ छ । 

बालबालिकाले स्थानीय तहलाई कसरी लिएका छन् र कसरी बुझेका रहेछन् भन्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीले बताए । उनले भने, ‘यस्ता कार्यक्रम देशव्यापी रूपमा गर्न आवश्यक छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *