राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणको बाँकि काम सम्बन्धित सरकारी निकायलाई नै हस्तान्तरण गरेको छ । २०७२ सालको गएको विनाशकारी भूकम्पपछिको पुनर्निर्माणको काम अन्तिम चरणको पु¥याएको प्राधिकरणले निर्देशक समितिको निर्णय अनुसार बुधबार सिंहदरबारमा एक कार्यक्रमको आयोजना गरी पुनर्निर्माणको बाँकि काम सम्बन्धित सरकारी निकायलाई हस्तान्तरण गरेको हो ।
गत भदौं ९ गते बसेको प्राधिकरण निर्देशक समितिको बैठकले भदौं मसान्तभित्र पुनर्निर्माणको बाँकि काम सम्बन्धित मन्त्रालय र मातहतका निकायलाई दिने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार निजी आवास, एकीकृत बस्ती विकास, सहरी भवन पुनर्निर्माणको बाँकि काम सहरी विकास मन्त्रालय, पुरातत्वसँग सम्बन्धित बाँकि काम पुरातत्व विभाग, शैक्षिक क्षेत्रसँग सम्बन्धित काम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संघ अन्तरगतको पुल, सडक पुनर्निर्माणको बाँकि काम स्थानीय पूर्वाधार विकास विभागलगायतका सरकारी निकायलाई हस्तान्तरण गरिएको प्राधिकरणकी सहसचिव यमुना प्रधानले जानकारी दिनु भयो ।
प्राधिकरणले पुनर्निर्माणको बाँकि कामलाई सम्पन्न गर्न आवश्यक बजेट र जनशक्तिको पनि व्यवस्था गरिएको स्पष्ट पारेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणको बाँकि काम गर्न कुनै समस्या हुन्छ कि भनेर प्राधिकरणको म्याद भने आगामी पौष ९ गतेसम्मका लागि तय गरिएको जानकारी पनि दिनु भयो ।

