सरकारले बजारलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न दिने हो भने कोरोनाले थलिएका धेरै व्यवसाय मध्ये पुष्प व्यवसाय सबैभन्दा छिटो लयमा फर्किने व्यवसायीहरुले बताएका छन् । बुधबार ललितपुरमा आयोजित फ्लोरिकल्चर एसोसिएशन नेपाल (एफएएन) को २९ औँ वार्षिक साधारण सभामा पुष्प व्यसायीहरुले यस्तो बताएका हुन् ।
व्यवसायीहरुले कोरोनाभाइरसको कारण सबैभन्दा धेरै क्षति पुष्प क्षेत्रमा भएको र सरकारले पनि पुष्प व्यवसायीहरुका लागि कुनै नीति नियम नबनाएको बताएका छन् । पुष्प व्यवसायमा पनि सबैभन्दा धेरै क्षति कट पm्लावरको क्षेत्रमा भएको बताएका छन् ।
सरकारले निषेधाज्ञा हटाएकोले बिस्तारै पुष्प व्यवसायले गति लिइरहेको व्यवसायीहरुको धारणा छ । कोरोनाको दुई वर्षभित्र २५ प्रतिशत भन्दा धेरै मानिसहरुले रोजगारी गुमाएको भन्दै व्यवसायीहरुले सरकारले पुष्प व्यवसायलाई कृषिमा राख्न माग गरेका छन् ।

