नेपाली महिला फुटबल टोली एएफसी महिला एसियन कप–२०२२ छनोटको समूह चरणबाट बाहिरिएको छ । उज्वेकिस्तान आज भएको छनोट दोस्रो खेलमा नेपाल बलियो टोली हङकङसँग गोल रहित बराबरी खेल्दै अंक बाँड्दा नेपाली महिला फुटबल टोलीको भारतमा आयोजना हुने एएफसी महिला एसियन कपको यात्रा समाप्त भएको हो ।
दुई खेलबाट १ अंक जोडेको नेपाल अघिल्लो चरण पुग्नका लागि हङकङविरुद्ध जित्नै पर्ने दबाब रहेको थियो । तर, नेपालले हङकङसँग बराबरीमा चित्त बुझाउँदा छनोटबाटै बाहिरिएको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा नेपालले हङकङलाई दबाब दिएर खेले पनि पाएका केही राम्रा अवसर सदुपयोग गर्न सकेन । नेपालले पहिलो पटक हङकङसँग बराबरी खेलेको हो । यस अघिको दुई भेटमा नेपालले नतिजा सुम्पिएको थियो ।
सन् १९८६ मा भएको पहिलो भेटमा नेपाल हङकङसँग १–० ले पराजित भएको थियो भने १९८९ मा भएको दोस्रो भेटमा ३–० ले पराजित भएको थियो । छनोटको पहिलो खेलमा नेपालले सुरुआती अग्रता अन्तिम मिनेटमा कायम राख्न नसक्दा फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित भएको थियो ।

