प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बिहीवारको प्रतिनिधिसभाको बैठक पनि अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले सभाको बैठक सुचारु भएको जनाए लगत्तै एमालेका सांसदहरुले अगाडि आएर प्रदर्शन गरेका हुन् ।
सभामुख सापकोटाले सभाको बैठकमा भइरहेको नियमित अवरोधले संसदको काम कारबाहीमा समस्या परेको र संविधानको धारा १०५ ले अदालतमा विचाराधीन मुद्दाहरुको सम्बन्धमा न्याय निरुपणमा प्रतिकुल असर पार्ने विषयमाथि संसदहरुको कुनै पनि सदनमा छलफल गर्न बन्देज गरिएको बताए पनि प्रमुख प्रतिपक्ष दलले नाराबाजी जारी राख्दै स्ंसद अवरोध गरेको हो ।
सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१ को खण्ड ख, ग र घका प्रावधानहरु सबै सांसदहरुले पालना गर्न अनुरोध गर्नुभएको थियो । एमाले सांसदहरुको बिरोधकाबीच उहाँले राष्ट्रपतिको कार्यालयबाट अध्यादेश खारेज र विधेयकहरु प्रमाणीकरण भएको कुरा जानकारी गराउनुभयो ।
बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महालेखा परीक्षकको ५८ औँ वार्षिक प्रतिवेदन २०७८ पेस गर्नुभएको थियो । प्रतिनिधि सभाको अर्को बैठक असोज १९ गते मंगलवार दिउँसो १ बजे बस्ने भएको छ ।

