दोस्रो प्रकाश दाहाल स्मृति महिला तथा पुरुष राष्ट्रिय बक्सिङ प्रतियोगिता आगामी कार्तिक २९ देखि मंसीर ३ गतेसम्म हुने भएको छ । बुधबार नेपाल बक्सिङ संघले काठमाडौंमा पत्रकार सम्मेलन गरी दोस्रो प्रकाश दाहाल स्मृति महिला तथा पुरुष राष्ट्रिय बक्सिङ प्रतियोगिताबारे जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेले प्रतियोगितामा देशभरका क्लव, जिल्लाहरुबाट सहभागी हुने खेलाडीहरु यसअघि नेपाल बक्सिङ संघको आयोजनामा भएका राष्ट्रिय तथा क्षेत्रीय प्रतियोगितामा सहभागी बनेको हुनुपर्ने बताउनुभयो ।
प्रतियोगिता आईबाको नियमानुसार खेलाइने बताउँदै प्रवक्ता अवालेले आईबाका नियमानुसार भएका पुरुष तथा महिलाको सम्पूर्ण तौल समूहमा खेल हुने जानकारी दिनुभयो । पुरुषतर्फ ४८,५१,५४,५७,६०,६३,६५,६७,७१,७५,८०,८६,९२ र त्यो भन्दा माथिको उमेरसमूहमा खेल हुनेछन् भने महिला तर्फ ४८,५०,५२,५४,५७,६०,६३ र ६६ किलो तौल समूहमा खेल खेलाइनेछ ।
प्रत्येक तौल समूहमा कम्तिमा १० हजार नगर पुरस्कार दिने भनिएको भएपनि प्रायोजक बढेको खण्डमा त्यो भन्दा धेरै पुरस्कार दिइने व्यवस्था रहेको उहाँले बताउनुभयो । खेलमा उत्कृष्ट पुरुष र महिलाहरुलाई विशेष पुरस्कारको व्यवस्था गरिएको पनि प्रवक्ता अवालेले बताउनुभयो ।

