भारतबाट दशै तिहार मनाउन नेपाल फर्किनेको जमुनाह नाकामा भिड


भारतमा रोजगारी गरी हिन्दु धर्मावलम्बीहरुको महान पर्व दशैँ मनाउन घर फर्किनेको सङ्ख्या बढेसँगै बाँके लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका जिल्लामा चहल पहल बढ्न थालेको छ । रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका नेपाली दशैँ नजिकिँदै गएकाले घर फर्किन थालेका छन् ।

अहिले यहाँका गाउँघरमा निकै चहलपहल बढेको छ । घरको खेतीपातीको काम सकेर यहाँका नागरिक कामका लागि भारतका विभिन्न सहर जाने गरेका छन् । रोजगारीका लागि अधिकांश नागरिक भारत जाने भएका कारण यहाँका गाउँघर सुनसान भएका थिए ।

अहिले उनीहरु धमाधम गाउँ फर्किन थालेका कारण गाउँमा निकै रौनकता छाएको छ । बाँके प्रहरीका अनुसार दैनिक दुई हजारबढी नेपाली जमुनाह नाका भएर नेपाल फर्किने गरेका छन् ।

घर फर्किएका नागरिकका कारण अहिले तराईबाट पहाड आउने गाडीहरु पनि भरिभराउ हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ । नेपालगन्जको वसपार्क, पुष्पलाल चोकलगायतका क्षेत्रमा भारतबाट फर्किएकाहरुको भीडभाड देखिन्छ ।

भारतबाट आउने नागरिकको सङ्ख्या बढेकाले कोरोना जोखिमबाट सजग रहन स्थानीय प्रहरी प्रशासनले सबैलाई आग्रह गरेको छ ।

भारतबाट घर फर्किँदै गरेका नेपालीलाई सीमामा सास्ती नहोस् भन्नका लागि जमुनाह नाकामा चाडपर्व लक्षित सीमा सहायता कक्ष स्थापना गरिएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

नाकामा नागरिकहरुले दुख नपाउन भनेर भारतबाट फर्किनेहरुको झोला तथा गुन्टाहरु नखोल्न बाँके प्रहरीका एसपी श्यामकृष्ण अधिकारीले निर्देशन दिनुभएको छ । शंकास्पद बाहेक अरु बेला पोकापन्तुरा नखोल्न निर्देशन दिइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *