स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैँ लगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताउनुभएको छ । आइतवार कान्ति बाल अस्पताललाई बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनले स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा बोल्दै राज्यमन्त्री श्रेष्ठले १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोना विरुद्धको १ करोड खोप आउने सुनिश्चितता भइसकेको बताउनुभयो ।
यसका लागि ४० लाख मोर्डना र ६० लाख फाइजर खोप खरिदको व्यवस्था गरिसकिएको उहाँले बताउनुभयो । दशैँलगत्तै १ लाख फाइजर खोप आउने उहाँले जानकारी दिनुभयो । फागुनसम्ममा क्रमश ः खोप आउने र बालबालिकालाई उपलब्ध गराइने उहाँले बताउनुभयो ।
राज्यमन्त्री श्रेष्ठले सरकारले कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएको उल्लेख गर्दै तिनै तहको अस्पतालको व्यवस्थापकिय पक्षलाई सुधार्न नीति बनाउने तयारी सरकारले गरेको बताउनुभयो ।
सरकारले स्वास्थ्य क्षेत्रको दरबन्दी बढाउन ध्यान दिएको उहाँको भनाई छ । कोभिड १९ रोकथाम तथा नियन्त्रणको सम्बन्धमा मृत्यु भएका स्वास्थ्यकर्मीको बालबच्चालाई अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने पनि उहाँले बताउनुभयो ।

