देउखुरीमा एमालेले उखेल्यो कांग्रेसको किला, एकैदिन ११० जना एमालेमा प्रवेश


दाङ : प्रमुख प्रतिपक्षी दल नेकपा एमाले यतिबेला वडा अधिवेशनको तयारीमा निकै व्यस्त छ। कार्तिक ६ गतेबाट देशभरका वडामा हुने अधिवेशनको तयारीमा रहेतापनि एमालेले विभिन्न स्थानमा पार्टी प्रवेशको कार्यक्रम समेत गरिरहेको छ।

यसैबीच, शुक्रबार मात्रै दाङको गढवा गाउँपालिका ७ चन्दनपुरमा पनि पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ। गढवा गाउँपालिका देउखुरीको आयोजनामा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा एमालेका केन्द्रिय सदस्य तथा एमाले दाङका पार्टी इन्चार्ज नरुलाल चौधरी प्रमुख अतिथिको रुमपा रहनु भएको थियो।

त्यस्तै, एमालेकी प्रतिनिधि सभा सांसद विशिष्ट अतिथिको रुपमा रहनुभएको थियो। दाङका अध्यक्ष टिकाराम खड्का, एमाले दाङका सचिव मनोजर बुढाथोकी, प्रदेश सदस्य रेवती रमन शर्मा लगायतका विशिष्ट व्यक्तित्वहरुको समेत उक्त कार्यक्रममा सहभागिता रहेको थियो।

कार्यक्रममा कांग्रेस र माओवादीबाट गरि ११० जना नवप्रवेशी एमालेमा प्रवेश गरेका थिए। जसमध्ये कांग्रेसका १ सय जना रहेका थिए भने माओवादीका १० जना रहेको बताइएको छ। पार्टी प्रवेश कार्यक्रमको नवप्रवेशीको नेतृत्व कांग्रेसका क्रियाशिल सदस्य मान बहादुर ओली र याम्मे बहादुर वस्नेतले गरेका थिए। त्यस्तै, लोकतान्त्रिक फोरमबाट निर्वाचित गढवा गाउँपालिका वडा नम्बर ७ को वडा सदस्य जानकी चौधरी समेत एमालेमा प्रवेश गरेकी हुन् ।

कार्यक्रममा उपस्थित अतिथिहरुको आ-आफ्नो भनाइ राख्नुभएको थियो। कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सांसद गंगा चौधरीले भन्नुभयो, “अहिले हामी वडा अधिवेशनको तयारीमा छौं । तरपनि एमाले प्रति जनताको आस्था र विश्वास बढ्दै गएकोले यसरी पार्टी प्रवेशको कार्यक्रमको आयोजना समेत गरिरहेका छौँ । सदैव जनताको हितमा लागिपरेको एमालेप्रति आम जनताले दिएको विश्वासलाई हामी कदापि घट्न दिनेछैनौं।”

उहाँले अगाडि थप्नुभयो, “केही दिन अघि मात्रै यही दाङमा आयोजित पार्टी प्रवेश कार्यक्रममा २ सय जना हाम्रो पार्टी एमालेमा प्रवेश गर्नुभएको थियो। र आजपनि १ सय १० जना हाम्रो पार्टीमा आउनुभएको छ। नवप्रवेशी सम्पुर्ण कमरेडलाई स्वागत छ। साथै उहाँहरु सम्पुर्णलाई दत्तचित्त भएर अगाडि बढ्न समेत आग्रह गर्न चाहान्छु।”

पार्टी प्रवेश कार्यक्रम नन्द कुमार चौधरी र गोपाल ओलीको पहलमा सम्पन्न भएको हो। त्यसो त, गोपाल ओली पार्टी प्रति निकै दत्तचित्त भएर पछिल्लो समय लागिपरिरहेका छन् ।

त्यसो त, केही हप्ता अघि दाङमै आयोजित कार्यक्रममा ठूलो संख्यामा २ सय जनाले एमालेमा पार्टी प्रवेश गरेका थिए। उक्त कार्यक्रम सम्पन्न गर्न पनि ओलीले निकै महत्त्वपूर्ण भुमिका निर्वाह गरेका थिए।

ओली भन्छन् , “आम नेपाली जनताको आस्थाको केन्द्र विन्दु एमाले भएकै कारणले हो एमालेमा यति धेरै संख्यामा पार्टी प्रवेश गरेको। सायद एमाले प्रति जनताको आस्था अनि विश्वास हुन्थेन भने एमालेप्रति युवा जगत लगायत आम नेपालीको आकर्षण हुँदैनथियो।”

यसरी, एमालेमा अन्य पार्टीबाट प्रवेश गर्ने नवप्रवेशीको भारी संख्या हेर्दा साँच्चिकै एमालेले जनताको विश्वास जितेको आभाष हुन्छ।

त्यसो त, कांग्रेसको अखडा मानिने देउखुरीमा एकैदिन १ सय बढी कांग्रेसबाट एमालेमा जांदा कांग्रेसको किला उखेलिएझै भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *