नेपाललाई भारतले आइतबारदेखि ६५४ मेगावाट बिजुली सोलार आवर (बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म) मात्रै दिने भएको छ । नेपालमा भारतबाट १२ घण्टा मात्रै बिजुली आयात गर्ने पाउने भएपछि रातको समयमा लोडसेडिङ हुने अवस्था देखिएको हो ।
भारतसँग भएको सम्झौता अनुसार मार्च १६ तारिखदेखि १२ घण्टाभन्दा बढी समयमा बिजुली दिन नसक्ने जानकारी गराएको विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बिहान ६ बजे देखि साँझ ६ बजेसम्म मात्रै बिजुली खरिद गर्न पाउने भएपछि आइतबारदेखि औद्योगिक क्षेत्रमा रातभर लोडसेडिङ हुने अवस्था देखिएको छ ।
मार्च १५ सम्म २० घण्टासम्म आवश्यकता अनुसार विद्युत् बिड गर्न पाउने भए पनि आइतबार देखि १२ घण्टा मात्रै बिजुली आयात हुने हुँदा लोडसेडिङ बढ्ने स्रोतले बताउँछ । भारतबाट रातको समयमा बिजुली खरिद गर्न नपाउँदा उद्योगहरूमा समस्या आउने देखिएको छ ।
नेपालको विद्युत् उत्पादन ड्राइ सिजनका कारण निरन्तर रूपमा घट्दै आएको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार भारतले पिक आवर (बेलुका ६ बजेदेखि १० बजेसम्म बिजुली नदिँदा रातको समयमा ४ घण्टा मात्रै लोडसेडिङ गरेर व्यवस्थापन गर्दै आएको थियो । अब सोलार आवरमा मात्रै भारतले विद्युत् दिने भएपछि उद्योगहरूमा थप लोडसेडिङ हुने अवस्था देखिएको छ ।
विद्युत् प्राधिकरणका प्रवक्ता चन्दन घोषले भने भारतबाट दिउँसो मात्रै विद्युत् आयात हुँदा पनि आपूर्तिमा खासै असर नपर्ने दाबी गरे । उनले भने, ‘६ बजेपछि विद्युत् आयात गर्न नपाउँदा पनि अप्ठ्यारो हुँदैन । अहिले हामीलाई दिउँसाको समयमा १४ सय मेगावाट आवश्यकता पर्ने हो । १४ सय मेगावाट नै विद्युत् आउने भएकोले समस्या हुँदैन । साँझको समयमा आन्तरिक उत्पादनले धान्छ । पीआरोआर हजार मेगावाट र अन्य ७ सय मेगावाट आन्तरिक गरी १६ सय उत्पादन हुन्छ । रातको समयमा कुनै समस्या हुँदैन ।’
उनले रातको समयमा भारतबाट ४ सय मेगावाट आयात गर्ने बताए । उनका अनुसार नेपालमा विद्युत् खपतको माग घटेको छ । प्रवक्ता घोषका अनुसार कुनै कुनै–कुनै दिन लोडसेडिङ गर्नुपरेको हुन सक्ने र उद्योगहरूमा ५० प्रतिशतसम्म मात्रै उत्पादन गर्नु पर्ने छ । उनले सबै उद्योगहरूले रातको समयमा विद्युत् प्रयोग नगर्ने भएकाले खासै समस्या नपर्ने र लोडसेडिङ पनि नहुने दाबी गरे । भारतबाट राति विद्युत् नआउँदा पनि घरायसी ग्राहकमा चाहिँ लोडसेडिङ नहुने उनको भनाइ छ ।
