रुपन्देही । कपिलवस्तुको कृष्णनगरमा गत असोज १८ गतेबाट फैलिएको झाडापखाला अझै नियन्त्रणमा आएको छैन । महिना दिनसम्म पनि झाडापखाला नियन्त्रणमा नआएपछि थप जोखिम हुन नदिन विश्व स्वास्थ्य संगठनले साढे दुई लाखभन्दा बढी डोज खोप सहयोग गर्ने भएको छ ।
स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेका अनुसार आगामी दिनमा थप जोखिम हुन नदिन दुई लाख ५२ हजार तीन सय ६३ डोज खोप दिन लागेको हो । विश्व स्वास्थ्य संगठनले खोप दिने निर्णय गरिसकेको र खोप आउनासाथ कार्यक्रम लागू गरिने स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
कृष्णनगर नगरपालिका–९ बाट सुरु भएको झाडापखाला शिवराज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकाका नागरिकमा समेत लक्षण देखा परी अस्पतालमा हाल पनि दैनिक १० जनाका दरले विरामी भर्ना भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
असोजमा देखिएको झाडापखाला प्रयोगशालामा परीक्षण गर्दा केही बिरामीहरूमा हैजा भएको प्रमाणित भएको थियो । अहिलेसम्म जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार शिवराज अस्पताल बहादुरगञ्जमा एक हजार ३ सय ३२, वैदौली अस्पतालमा ६१ र शिवराज आधारभूत अस्पतालमा ६ जना उपचारको लागि भर्ना भएका थिए । अहिलेसम्म जिल्लामा ६ जनाको झाडा पखालाकै कारण मृत्यु भइसकेको छ ।
