काठमाडौं । सातै प्रदेशमा ‘टीभीएस राइडर–सप्तरंग ३’ हुने भएको छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा आयोजक गृष्मा ब्रोडकास्टिङल‘टीभीएस राइडर–सप्तरंग ३’ हुने जानकारी गराएको हो ।
गृष्मा ब्रोर्डकास्टिङले आयोजना गर्न लागेको ‘सप्तरंग’ ले सातै प्रदेशमा जोडिएर कलाकारको सहकार्यमा सचेतना फैलाउने भएको छ । ‘सातै प्रदेशमा रहेका जनतालाई जनताद्वारा जनताको निम्ति’ भन्ने भनाइलाई जनमानसमा कलामार्फत् प्रष्ट्याउनुनै ‘सप्तरंग’को मुख्य उदेश्य रहेको छ ।
कला संस्कृतिलाई उजागर गर्दै मङ्सिर २४ गतेदेखि काँकडभिट्टाबाट सुरु हुने ‘सप्तरंग–३’ पुस ९ गते पोखरामा पुगेर अन्त्य हुने बताइएको छ । काँकडभिट्टा लगत्तै मङ्सिर २६ मा जनकपुर, २८ मा चितवन, पुस १ मा नेपालगन्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरा पुगेर समापन हुने बताइएको छ ।
‘सप्तरंग–३’ मा अभिनेता राजेश हमाल, गायक बद्री पङ्गेनी, प्रमोद खरेल, रामकृष्ण ढकाल, अनिल सिंह, हास्य कलाकार सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल, गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेती जस्ता कलाकारहरू सहभागी हुनेछन् ।
‘नेपाल र नेपालीलाई चिनाऔँ र सारा विश्वमा फैलिएका नेपालीहरूले आफ्नो देशको प्रतिनिधित्व गर्दै जाति, धर्म, भाषा र भेषभुषालाई विश्वसामु आफै चिनाउनेछन्’ भन्ने नारालाई आत्मसाथ गरिएको बताइएको छ ।
