काठमाडौं – कोरानाभाइरसविरुद्धको मोडर्ना खोपको १४ लाख मात्रा आज काठमाडौं ल्याइने भएको छ । कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाबाट १४ लाख ९७ हजार मोडर्ना खोपको मात्रा आज ल्याउन लागिएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए ।
उनका अनुसार उक्त खोप कतार एयरवेजबाट काठमाडौँ आइपुग्ने छ । यसअघि बुधबार पनि कोभ्याक्स सुविधाअन्तर्गत ६ लाख मात्रा कोभिसिल्ड खोप भारतबाट ल्याइएको थियो । मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइनेछ ।
यही मंसिर २६ गते थप १९ लाख ६५ हजार मोडर्ना खोपको मात्रा ल्याउन लागिएको उनले बताए । केही दिन अघि मात्र एक लाख ८४ हजार ४०० मोडर्ना खोपको मात्रा ल्याइएको थियो । नेपालमा अहिलेसम्म खरिद गरेर, अनुदान र कोभ्याक्समार्फत दुई करोड ७९ लाख खोपको मात्रा ल्याइएको छ ।
