अब ट्राफिक जरिवाना कारबाही स्थलबाटै भुक्तानी गर्न सकिने


काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गरे तत्कालै कारबाही स्थलबाटै जरिवाना भुक्तान गरी आफ्नो कागजपत्र फिर्ता लिन सकिने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी चालकहरुले ट्राफिक नियम उल्लंघन गरे पश्चात ट्राफिक प्रहरीले जारी गर्ने २४ घण्टे पूर्जी बापत नियमानुसार तिर्नुपर्ने जरिवाना रकम तत्कालै कारबाही स्थलबाटै भुक्तान गरी आफ्नो कागजपत्र फिर्ता लिन सकिने व्यवस्थाको सुरुवात गरेको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले प्रविधिमा आधारित “पे फाइन अन द स्पोर्ट–इन्स्ट्यान्ट पेमेन्ट सिस्टम” व्यवस्थाको सुरुवात गरे ।

कार्यक्रममा एसएसपी भट्टराईले ट्राफिक सेवा आधुनिक तथा प्रविधियुक्त हुदै गएको भन्दै अबदेखि चिट काटेपछि जरिवाना तिरेर ट्राफिक कार्यालयमा गई कागजात फिर्ता लिने व्यवस्थामा परिमार्जन गरि जरिवाना रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिने व्यवस्था गरिएको बताए ।

पहिलो चरणमा गौशाला, दरबारमार्ग, थापाथली, जावालाखेल र जनसेवा गरि पाँच वटा ट्राफिक कार्यालयबाट सुरु गरेको यो सेवालाई क्रमश अन्य कार्यालयमा समेत बिस्तार गर्ने महाशाखाले जनाएको छ ।

मादक पदार्थ सेवन गरि सवारी चलाएको, लेन अनुशासन पालना नगरेको र रातो बत्ती उल्लंघन गरेका चालकहरुले भने ट्राफिक जनचेतनामुलक प्रशिक्षण लिएपछि ट्राफिक प्रहरी महाशाखाबाट मात्र आफ्नो कागजात फिर्ता लिन सकिने समेत महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *