काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले मंसिर २८ गते बोलाइएको प्रतिनिधि सभा बैठक अवरुद्ध गर्ने संकेत गरेका छन् । यसअघि नै पदभार ग्रहण गर्दै पार्टी अध्यक्ष केपी शर्मा आलीले यस्तै संकेत गरेका थिए । ज्ञवालीले भने, ‘संसद्भित्र गैरसांसदहरूलाई राखेर सदन चल्दैन ।’
बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले आफ्ना भनाइहरू पूर्ववत् नै रहेको उल्लेख गर्दै थपे, ‘निष्पक्ष भूमिका सम्पादन गर्न नसक्ने सभामुखले त्यो ढंगले बैठकलाई अगाडि बढाउन सक्नुहुन्न । यी दुईटा कुरामा सुधार हुनुपर्छ, हामी हाम्रा पूर्वमान्यतामा यथावत् छौँ ।’
एमालेले गत साउन २३ यता शुरू भएको संसद् अधिवेशनका प्रायः बैठकहरूलाई अवरुद्ध गर्दै आएको छ । ‘उहाँहरूले गम्भीरतापूर्वक नलिँदासम्म एमालेले आफ्नो अडानहरूलाई त्यसैगरी प्रस्तुत गरिरहन्छ ।’
गत भदौमा एमाले फुटाएर एकीकृत समाजवादी बनाएका पार्टीका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाललगायतका १४ जना नेताहरूलाई एमालेले गैरसांसद भन्दै आएको छ । पार्टी फुटाउने सुइँको पाएपछि एमोलले नेपालसहितका उनीहरूलाई कारबाही गरेको थियो ।
