काठमाडौं, ८ पुस । पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले अहिलेका अर्थमन्त्रीलाई जोड घटाउन पनि नआउने बताउनुभयो। बुधबार एक टेलिभिजनलाई अन्र्तवार्ता दिने क्रममा उहाँले शर्मामा अर्थतन्त्रको राम्रो ज्ञान नरहेको बताउनुभएको हो । अहिलेको ४२ खर्ब रुपियाँ जीडीपी (कुल ग्रार्हस्थ उत्पादन) रहेको अर्थतन्त्र दुई सय गुणा वृद्धि गर्छु भन्ने अर्थमन्त्री शर्माको दावी हास्यास्पद र असंभव हो भन्दै पाण्डेले भन्नुभयो ‘उहाँले हाम्रो अर्थतन्त्रलाई दुई सय गुणा बढाउने कुरा गर्नुभएको मैले पढें । हाम्रो अहिलेको अर्थतन्त्र भनेको ४२ खर्बको हो । त्यसलाई दुई सय गुणा बढाउने भनेको आठ हजार चार सय खर्ब हो । यो कहिं मेल खाने कुरा हो र ? दुई गुणासम्म भनेको भए ८४ खर्ब हुन्थ्यो । दुई सय गुणा भन्दिनुभयो ।
हाम्रो अर्थतन्त्र त्यति धेरै लिकेज भएर, त्यति धेरै कमजोर भएर ४२ खर्बमा सीमित भएको भन्ने उहाँले जुन म्यासेज दिनुभयो, त्यो गलत हो ।’ अर्थमन्त्री शर्माको भनाईले आफूहरु पनि कन्फ्युज भएको पाण्डेले बताउनुभयो ।
उहाँल भन्नुभयो ‘हामी पनि हिजो अर्थमन्त्री भएको । हामीले पनि हिजो भन्न नजानेको हो कि ? ४२ खर्बलाई आठ हजार चार सय खर्ब पुर्याउन सकिने अवस्था त्यो बेलामा पनि थियो कि ? हामीले भन्नु पर्यो नि ।’ अहिलेको अर्थमन्त्री कति योग्य ? भन्ने कुराले उनले केही बोल्न चाहेनन् । साथै, पाण्डेले मासिक १० प्रतिशत पुँजीगत खर्च गर्ने अर्थमन्त्री शर्माको तर्क पनि अव्यवहारिक भएको बताउनुभयो । बर्षमा दुई महिना विभिन्न कारणले काम हुन नसके पनि बाँकी १० महिनामा १०–१० प्रतिशतको दरले खर्च गर्ने कुरा हेर्दा अंकगणितमा सजिलो भए पनि त्यो सहज नरहेको मन्त्री शर्माको काम गराईबाट प्रष्ट हुने बताउनुभयो । पाण्डेले चालु आर्थिक बर्षको पाँच महिनामा जम्मा पाँच प्रतिशत मात्रै खर्च भएको उदाहरण दिँदै गहिराईमा नगई शर्माले सतही टिप्पणी गर्ने काम गरेको बताउनुभयो ।
