अर्जुन दास हत्या प्रकरण : आफन्तले बुझे शव


कैलाली – कैलालीको जानकी गाउँपालिका–९ का अर्जुन दासको शव आफन्तले बुझेका छन् ।
पुस ३ गते बीभत्स हत्या गरेको अवस्थामा फेला मृत फेला परेका दासको शव सोमबार आफन्तले बुझेका हुन् । पोस्टमार्टमपछि उनको शव टीकापुर अस्पतालमै राखिएको थियो । हत्यारा पक्राउ नपरेसम्म शव नबुझ्ने भन्दै उनका आफन्तले अस्पतालबाट शव उठाउन मानेका थिएनन् ।

आइतवार  भएको सर्वपक्षीय छलफलपछि जानकी गाउँपालिकाले माग सम्बोधनका लागि ६ बुँदे लिखित सहमति गरेपछि उनका परिवारले आज (सोमबार) शव बुझेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए।

गाउँपालिका कार्यालयले पीडित परिवारलाई किरिया खर्चबापत तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराउने, दोषीलाई कारबाहीको दायरामा ल्याउने, मृतककी छोरीलाई उच्च शिक्षा पढाउने जिम्मा लिने, परिवारको एक जना सदस्यलाई रोजगारी लगाउन प्रदेश सरकारसँग अनुरोध गर्ने, सम्बन्धित निकायसँग समन्वय गरेर दासको सालिक बनाउन पहल गर्ने सहमति भएको छ ।

पीडित पक्षले उठाएका शहीद घोषणा र दासको नामबाट अमरावती सामुदायिक वनको नामकरण गर्ने माग गाउँपालिकाको क्षेत्राधिकारभित्र नपर्ने भएकाले यी दुई बुँदामा छलफल नभएको गाउँपालिकाले जनाएको छ ।

गत शुक्रवार करिब ५ बजेतिर उनी घरबाट निस्केका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *