काठमाडौं : सरकारले कोरोनाविरुद्धको खोपको ‘अतिरिक्त डोज’ (बुष्टर डोज) खोप दिने भएको छ।
खोप सल्लाहकार समितिको निर्णयका आधारमा ‘अतिरिक्त डोज’ खोप दिने भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीका अनुसार अतिरिक्त डोज कहिलेदेखि दिइने भन्नेबारे भने निर्णय हुन बाँकी छ।
‘खोप सल्लाहकार समितिले कोरोना खोपको अतिरिक्त मात्रा दिन सिफारिस गर्ने निर्णय गरेको छ तर कहिलेदेखि खोप दिने भन्ने निर्णय भने भएको छैन’उनले भने।
अधिकारीका अनुसार रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरूलाई अतिरिक्त डोज दिन लागिएको छ। जसमा क्यान्सर रोगी, अङ्ग प्रत्यारोपण गर्नेहरू र एचआइभीका बिरामी छन्। यस्ता बिरामी तथा ६० वर्षमाथिका वृद्धवृद्धाहरूले यो खोप पाउने उनले बताए।
तर, अतिरिक्त मात्रा दिनलाई कम्तीमा खोप लगाएको तीन महिना पूरा भएको हुनुपर्ने छ। साथै अतिरिक्त मात्रा दिँदा अघिल्लोपटक लगाएकै खोप दिन लागिएको समेत बताइएको छ। धेरैले अतिरिक्त डोज दिन लागेकै खोपलाई बुष्टर डोज भनेर बुझे पनि अतिरिक्त डोज खोप र बुष्टर डोज खोप फरक भएको उनले बताए।
अधिकारीले भने,‘बुष्टर डोज र अतिरिक्त मात्रा छुट्टाछुट्टै हो। अतिरिक्त मात्रा सबैलाई दिने होइन। बुष्टर डोज भनेको सबैलाई दिने हो’ त्यसैले अहिलेलाई अतिरिक्त मात्रा दिने निर्णय भएको र बुष्टर डोजको दिने बारे तयारी भएको समेत बताइएको छ।
गत पुस ६ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले विश्व स्वास्थ्य संगठनले अनुमति दिएमा पुस अन्तिमदेखि नागरिकलाई बुष्टर डोज दिन सुरु गरिने बताएका थिए।
