भारतिय यातायात बिभागद्वएक नेपालका दुई वटा बस सिज


महेन्द्रनगर । भारतिय यातायात बिभागले नेपालका दुई वटा बस सिज गरेको छ। अवैध रुपमा सञ्चालन गरेको भन्दै सिज गरेको हो ।  नेपाल–भारत मैत्री बस सेवा सम्झौता विपरीत सञ्चालित दुई बस नियन्त्रणमा लिएको भारतिय प्रशासनले जनाएको छ ।

पोखराबाट भारतको देहरादुन चल्ने दुवै डिलक्स बसलाई नियन्त्रणमा लिएर सीज गरिएको भारतका यातायात सचिव डा. रञ्जित सिन्हाले बताए । आगामी दिनमा गैरकानूनी रुपमा सञ्चालन गरेको गुनासो आएमा कर्मचारीलाई समेत कारबाही गर्ने निर्देशन दिएका छन् ।

नेपाल भारत मैत्री बस सेवाअन्तर्गत नेपालका दुई वटा बस कम्पनीले रोडवेजको मुख्यालयबाट उत्तराखण्डमा सञ्चालनको स्वीकृति पाएका छन् । तर, त्यसको आडमा गैरकानुनी रूपमा बस सञ्चालन भइरहेको आरोप छ ।

बिहीबार उत्तराखण्ड रोडवेजका महाप्रबन्धक दीपक जैनले महेन्द्रनगरको पवनदूत यातायात कम्पनी र महाकाली बहुउदेश्यीय यातायात कम्पनीका अध्यक्षलाई पत्राचार गरी गैरकानूनी रूपमा बस सञ्चालन रोक्न आग्रह गरेको छ ।

मंसिर ११ गते दुवै कम्पनीलाई बस सञ्चालनका लागि रोडवेजको मुख्यालयले अनुमति दिएको थियो । महेन्द्रनगरका लागि तोकिएको काउन्टरमा प्रत्येक साँझ ८.१५ र ८.३० बजे देहरादुन लागि दुबै कम्पनीको एउटा मात्र बस छुट्ने शर्त राखिएको थियो । सर्त तोडेर दून र हरिद्वारबाट दैनिक १ दर्जन बस चलाएको आरोप छ ।

शनिबार यातायात सचिव डा रञ्जित सिन्हाले पनि यस सम्बन्धमा सचिवालयमा गुनासो गरेका थिए । नेपालबाट आउने दुई वटा डिलक्स बसले गढीकाँटबाट यात्रु बोक्ने गरेको गुनासो छ । सचिवले तत्काल रोडवेजका महाप्रबन्धक दीपक जैन र आरटीओ प्रवर्तन सुनील शर्मालाई कारबाही गर्न निर्देशन दिएका थिए ।

त्यसपछि आरटीओ शर्मा र रोडवेज डिभिजनल म्यानेजर सञ्जय गुप्ता घटनास्थल पुगेर दुवै बसलाई नियन्त्रणमा लिएका थिए । त्यसपछि दुवै बसलाई आशारोदी चेकपोष्टमा ल्याई पार्किङ गरेको थियो ।

भारतको यातायात विभागले नियन्त्रणमा लिएका बस पोखराको भएको महाकाली बहुउदेश्यीय यातायात कम्पनीका अध्यक्ष डम्मरदत्त पन्तले बताए । ‘ती बसहरु पोखराका हुन्, यताका होइनन्,’ उनले भने, ‘अगामी दिनमा अवैध रुपमा भारत जाने बसहरुमाथि निगरानी गर्छौ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *