काठमाडौं । शान्ता चौधरी । नौ वर्षको उमेरमै बाध्यतावस कमलरी बस्नु । १८ वर्षे लामो कमलरी जीवनबाट मुक्त हुँदै सांसद अर्थात माननीय ।
सानै उमेरमा कमलरी बस्नु परेका कारण पढ्न नपाएको भन्दै सांसद भएपछि उनी ८ कक्षामा भर्ना भएर १२ कक्षा उत्तिर्ण गरिन् । अहिले उनी स्नातक (व्याचलर) पढ्ने तरखरमा छिन् ।
दृढ अठोट र बलियो इच्छाशक्ति भए कसैले रोक्न सक्दैनन् भन्ने उदाहरण बनेकी चौधरी अहिले अन्य सांसदले नगरेको व्यवसाय रोजेर अर्काे उदाहरणको पात्र बनेको छिन् ।
सांसद पद क्षणिक समयका लागि हो । राजनीति गर्न व्यापार तथा व्यवसाय गर्नुपर्छ भन्ने सोचका साथ करिब एक वर्ष अगाडि काठमाडौंको कोटेश्वरमा ‘स्मार्ट जोन फिटनेश सेन्टर एण्ड व्युटी पार्लर’ सञ्चालन गरिएको उनको भनाई छ ।
संसद भवनको बैठक तथा पार्टीको गतिविधिबाट फुर्सद हुनासाथ उनी कोटेश्वरको पार्लरमा पुगिहाल्छिन् । पुराना दिनहरुलाई भुलेर पार्लर क्षेत्रमा नयाँ अनुभव लिदै थप नयाँ कुरा सिक्दै ग्राहकसँग रमाउँछिन् उनी ।
‘धेरै दुःख सहेर यहाँसम्म आइपुगेको छु, दुःख गरेर खान मलाई कुनै अप्ठ्यारो लाग्दैन, गलत गरेर ढाँटेर खानुभन्दा मेहेनत र दुःख गरेर खानुमा आफूलाई गर्व महसुस हुन्छ, मैले जानेको शीपको प्रयोग गर्न मैले व्यूटी पार्लर व्यवसाय रोजेको हूँ, राजनीति गर्ने खर्च जुटाउन, छोराछोरी पढाउन म आफै स्वरोजगार बन्न खोजेकी हूँ,’ चौधरीले भनिन् ।
उनले आफ्नो पारिवारिक पृष्ठभूमि र व्यक्तिगत जीवनबारे पनि थप केही बताइन् ।
‘काठमाडौंको बसाईसँगै दैनिक हुने खर्च धान्न नसक्दा मैले धेरै दुख पाएँ, श्रीमानले अर्काे विहे गरेर वस्नुभयो, छोराछोरीको कमाउने उमेर भएको छैन, सांसदको भत्ताबाट घरखर्च चलाउन निकै भयो, पछिल्ला दिनहरु यस्तै नआओस भनेर नै मैले व्यवसाय सुरु गर्ने आट गरेको हूँ, हामी राजनीति गर्ने मान्छे, केही न केही व्यवसायमा जोडिनुपर्छ, राजनीति भनेको समाज सेवा हो, समाजको सेवा गर्नलाई आफूसँग पर्याप्त पुँजी हुनुपर्छ, त्यही पुँजी जम्मा गर्न नै मैले आफूले जानेको शीप अनुसारको व्यवसाय सुरु गरें,’ चौधरीले थपिन् ।
सांसद चौधरी राजनीतिसँगै सामाजिक सञ्जालमा (फेसबुक, टिकटक) सक्रिय देखिन्छन् । उनले विभिन्न कार्यक्रममा सहभागी भएकोदेखि आफूले सुरु गरेको व्यवसायको फोटो तथा भिडियो हाल्ने गरेकी छिन् ।
सांसद तथा मन्त्री भएका र राजनीति गर्ने मान्छेहरुको आम्दानीका बारेमा प्रश्न उठिरहेको समयमा सांसद चौधरी उदाहरणीय बनेकी छन् । सांसद चौधरीले अरुको थ्रेडीङ, फेसियल गरेको फाटो र भिडियो निर्धक्कसँग फेसबुक तथा टिकटकमा राख्ने गरेकी छन् ।
‘सांसद भएर, कुनै पार्टीको नेता भएर यो खाले सानोतिनो व्यवशाय गर्ने हो र भनेर कतिपयलाई लाग्दो रहेछ । कहिले काही तेस्ता टिप्पणी पनि सुन्छु । तर, मलाई त्यस्ताखाले टिप्पणीले खास असर गर्दैन । श्रम गरेर यहाँसम्म आएको हूँ, श्रममा विश्वास गर्छु । आफ्ना हरेक कामप्रति कर्तब्यनिष्ट रहन्छु र खुशी छु । गलत गरेर, ढाटेर खानुभन्दा मेहेनत र दुःख गरेर व्यवशाय गरेर खानुमा गर्व महसुस हुन्छ । राजनीति, समाज परिवर्तनका लागि र व्यवशाय जीवनयापनका लागि गर्ने हो । तपाईहरुले पनि हामीलाई सेवा गर्ने अवसर दिनु हुनेछ भन्ने विश्वास गरेको छु’, उनले सामाजिक सञ्जाल (फेसबुक) मा लेखेकी छन् ।
राजनीतिक लाभको पद केही समयका लागि प्राप्त हुने भएपनि त्यसपछिको जीवन कठोर नियतिलाई आत्मसाथ गर्दै अगाडि बढाउनु पर्नेमा उनी जानकार छिन् ।
त्यसैले त उनी भन्छिन्– मन्त्री सांसद त क्ष्यणिक समयका लागि हो, आफू बलियो भए पो राजनीति गर्न सकिन्छ, आफू बलियो बन्न र छोराछोरी पाल्नका लागि मैले आफूले जानेको काम सुरु गरेको हो ।
उनी कमलरी हुँदै राजनीतिमा प्रवेश गरेकी थिइन् । राजनीति गर्दै जादा सांसद समेत बनिन् ।
‘सांसद पद केही समयका लागि हो, म राजनीति गर्ने मान्छे, जागिर गर्छु भन्न सक्दिन, परिवार पाल्न त केही गर्नै पर्यो नि,’ उनी भन्छिन् ।
सरकारले कमलरीलाई मुक्त गरेपछि स्वरोजगार बन्नको लागि शीप सिकाएको थियो । सोही समयमा शान्ता चौधरीले पनि व्यूटी पार्लर सम्बन्धी शीप सिकेकी थिइन् । अहिले त्यो शीप उनलाई काम लागेको छ ।
‘मैले १७ वर्ष अगाडी व्यूटी पार्लर सम्बन्धी तालिम लिएको थिएँ, मञ्जु बैनी (मञ्जु पुरी) सँग देश सँगै विदेशमा पार्लर क्षेत्रमा लामो समयदेखिको अनुभव छ, उहाँकै सहयोगमा मैले पनि सिक्दै छु’, उनले भनिन् ।
एक वर्ष अगाडि २० लाख रुपैयाँकोे लगानीमा उनीहरुले फिटनेश सँगै व्युटी पार्लर व्यवसाय सञ्चालनको सुरुवात गरेका थिए । व्यवसाय सुरु गरेकै समयमा कोरोना महामारीका कारण सरकारले बन्दाबन्दी गरेको थियो ।
‘एक वर्षको अवधिमा ६ महिनाजति व्यवसाय नै बन्द भयो । ६ महिना मात्र सञ्चालन भएको होला, हामी नाफामा पनि छैनौँ, घाटामा पनि छौनौँ, त्यति ठूलो लगानी छैन, तर हामी सन्तुष्टि छौँ,’ उनले भनिन् ।
व्युटी पार्लर भनेपछि सांसद नै नाक खुम्च्याउछन्
करिब एक वर्ष व्युटी पार्लर व्यवसाय सञ्चालनको अनुभव बटुलेकी चौधरी पार्लर क्षेत्रलाई हेर्ने नजरमा परिवर्तन नभएकोे बताउँछिन् ।
‘हाम्रो पसलमा फिटनेशका लागि धेरै पुरुष माननीयज्यूहरु आउने गर्नुहुन्छ, व्युटी पार्लर भनेर नाक खुम्चाउने सांसदहरु अझै धेरै छन्, अहिलेको जमानामा राम्रो बनेर हिड्नुपर्छ, स्वस्थ हुनुपर्छ भन्नेतर्फ ध्यान छैन्, व्युटी पार्लर क्षेत्रमा लागेपछि नराम्रो भइन्छ, यो पेशा राम्रो होइन भन्ने मान्छे पनि धेरै भेटेको छु’, उनी भन्छिन् । (स्रोत : विकाश न्युज)
