दुई हजार विद्यालयमा सरकारले ‘आइसिटी ल्याब’ स्थापना गर्ने


काठमाडौं : सरकारले दुई हजार तीन सय विद्यालयमा एकैसाथ ‘आइसिटी ल्याब’ स्थापना गर्ने भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयको शैक्षिक सुधारका लागि २३ सय वटा विद्यालयमा आइसिटी ल्याब तत्काल बनाउने निर्णय गरिएको जानकारी दिए।

शिक्षा पत्रकार समूहले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले तीन वर्षभित्र देशभरका सबै विद्यालयमा सो ल्याब स्थापना गर्ने सरकारको योजना रहेको पनि स्पष्ट पारे। मन्त्री पौडेलले सार्वजनिक विद्यालयको भौतिक पूर्वाधारमा कुनै समस्या नहोस् भन्नेमा सरकार सचेत रहेको बताए।

उनले सार्वजनिक विद्यालयको शैक्षिक सुधारका लागि सम्बन्धित सबै निकायलाई सचेत भएर काम गर्न पनि निर्देशन दिए।

उनले भने, ‘२३ सय वटा विद्यालयमा आइसिटी ल्याब तत्काल बनाउने निर्णय गरेका छौं। यसको प्रक्रिया छिट्टै अघि बढ्छ। क्रमशः तीन वर्षभित्र देशभरका सबै सार्वजनिक विद्यालयमा त्यसलाई निर्माण गरिनेछ। सार्वजनिक शिक्षालाई सुधार गर्नका लागि भौतिक पूर्वाधारको अभाव भएका ठाउँमा व्यवस्था गर्ने कामलाई पनि सरकारले सुरु गरेको छ। तर त्यसका लागि सरोकारवाला निकायहरूले सक्दो सहयोग गर्नुपर्ने हुन्छ।’

मन्त्री पौडेलले सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर खस्कन नदिने गरी १८ हजार शिक्षकहरूको नयाँ दरबन्दीको व्यवस्था गर्नु परेको बताए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *