प्रचण्ड–माधव देउवाको पछि, देश र दुनियाँ ओलीको पछि पछि


काठमाडौं । केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउँदा नेकपा एमालेका नेताहरू भन्ने गर्नुहुन्थ्यो नेपालको समकालीन राजनीति केपी ओलीको वरिपरि घुमिरहने छ, सत्तामा भए पनि बाहिर भए पनि ।

सत्ताबाट बाहिरिएका, अझ सत्ताबाट गलहत्त्याइएका व्यक्तिको वरिपरि राजनीति कसरी घुम्छ ? यो केवल मनको लड्डु घ्यूसँग खाने कुरा मात्र हो भन्ने धेरैलाई लागेको थियो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले फुटाएर गएका माधव नेपाल लगायतका नेता त एमालेलाई फुटाइयो, केपी ओलीलाई सिद्धाइयो भन्दै भाषण गर्दै हिँड्नुभयो । केपी ओलीको पत्ता साफ गरियो भन्दै कुर्लनुहुन्थ्यो उहाँहरू ।

प्रचण्ड र माधव नेपालको एउटै लोली र बोली थियो, ‘संघमा ढल्यो, प्रदेशमा धमाधम ढल्यो, अबको निर्वाचनमा देशभरिबाट एमाले समाप्त हुन्छ,केपी ओली एण्ड कम्पनी सकिन्छ ।’

प्रचण्ड भन्नुहुन्थ्यो, ‘केपी ओलीले आगोसँग खेले, मैले पहिले नै भनेको थिएँ आगोसँग नखेल्नुस् भनेर, आगोसँग खेल्दा के भयो, अहिले देख्नुभयो नि ।’ प्रचण्ड आफूलाई आगो ठान्नु हुन्थ्यो । केपी ओलीले आफूसँग खेलेको कारण भष्म भएको भान प्रचण्डलाई थियो । उहाँ केपीलाई खिसी टेउडी गर्नुहुन्थ्यो । ओलीलाई खुच्चिङ मच्चाउनुहुन्थ्यो ।

आम मानिसलाई पनि करिब दुईतिहाई नजिकको संघीय सरकारको प्रधानमन्त्रीबाट बाहिरिनु भएको ओली फेरि राजनीतिमा कसरी स्थापित हुन सक्नुहालो भन्ने थियो । संघीय सरकारबाट एमाले र केपी ओली बाहिरिएपछि भएको कांग्रेस, माओवादी लगायतका दलको गठबन्धनको कारण एमाले सबै प्रदेशमा समेत सरकारबाट बाहिरिएपछि अब एमाले र केपी ओली संकटमा परे भन्ने लागेको थियो ।

केपी ओली र एमाले सत्ताबाट बाहिरिएको तीन महिनामा नै देशको राजनीतिले नयाँ रूप लियो । आफूलाई आगो ठान्ने प्रचण्ड एकाएक खरानी हुनुभयो ।

कार्यकर्ता बिचमा एमसीसी राष्ट्रघाती छ, यसलाई पास गर्नु हुँदैन भन्ने तर अमेरीकालाई भने एमसीसी पास गर्छौँ भनेर पत्र पठाउने उहाँको दोहोरो चरित्र सार्वजनिक भएपछि उहाँ एकाएक आगोबाट पानी हुनुभयो । भरभराउँदो आगोको फिलिङ्गोबाट अँगार हुनुभयो, त्यसबाट पनि जलेर खरानी बन्नुभयो ।

केपी ओलीलाई सिद्धाएर आफू सिंह भएँ भन्ने ठान्नुभएका माधव नेपाल एकाएक स्याल जस्तो बन्नुभयो । मान सम्मान खोज्ने माधवको मान पनि गुम्यो, सम्मान पनि सकियो ।

आफूलाई पाँच दलीय गठबन्धनका भिष्मपितमह ठान्ने नेपालाई बैठकमा समेत बोलाउन छाडियो । उहाँ त जुत्ता खाने बुहारीको कथाका पति जस्तो पो हुनुभयो । कानमा लगाएको काैडी देखाएपछि चुपचाप ।

आफ्नै गतिविधिका कारण जनाधार गुमाउनुभएका पुष्पकमल दाहाल प्रचण्ड र फुट र गुटको राजनीति गरेको कारण कार्यकर्ताबाट समेत वहिष्कृत हुनुभएका माधव नेपाल चुनावसँग आत्तिनु भएको छ । उहाँहरूले देश भरिका कुनै पनि ठाउँ आफ्नो लागि सुरक्षित देख्नुभएको छैन । त्यसैले उहाँहरूमा एक्लै चुनाव लड्ने आँट छैन ।

उहाँहरू हामीलाई पनि सँगै लैजानु पर्‍यो । समाएर जँगार तारिदिनु पर्‍यो भनेर शेरबहादुर देउवाको दौराको फेर समातेर पछि पछि हिँडी रहनुभएको छ । गठबन्धन टुटाउनु हुँदैन । कम्तीमा चुनावसम्म सँगै जानुपर्छ भन्दै हुनुहुन्छ । त्यसको लागि जे गर्न पनि तयार रहेको अभिव्यक्ति दिइरहनु भएको छ ।

चुनावमा कांग्रेसले भोट दिएन भने हामी सखाप हुन्छौँ भन्दै हुनुहुन्छ । जे जे गर्नु परे पनि गर्छौँ, आफ्नै कार्यकर्तालाई ढाँट्नु परे पनि ढाँट्छौँ, जनतालाई छल्नु परे पनि छल्छौँ, तर हामीलाई छाड्नु भएन भनेर उहाँहरू देउवालाई पुकारी रहनुभएको छ ।

तर उहाँहरूको यो पुकाराले अब काम गर्ने संकेत देखिएको छैन । प्रचण्डको दोहोरो चरित्रको कारण पाँच दलीय गठबन्धन संकटमा परेको छ ।

केपी ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍यायौँ भन्नेहरू आज बालुवाटारबाट बालकोट धाउन लागेका छन् । सिंह दरबार र बालकोटको कुर्सीबाट बालकोटको बार्दलीमा पुर्‍यायौँ भन्नेहरू बालकोटको बार्दलीमा धाउन लागेका छन् । केपी ओली नेपाली राजनीतिको सिंह बन्नुभएको छ । उहाँ जता गयो दरबार त्यतै बनेको छ ।

अहिले बालुवाटारमा निराशाको बादल मडारिएको छ । बालकोटलाई सबैले आशाको नजरले हेरेका छन् । प्रचण्ड–माधव शेरबहादुरको पछि पछि लाग्नु भएको छ । शेरबहादुर अनि देश र दुनियाँ केपी ओलीको पछि पछि लागेकाे छ ।

प्रचण्ड–माधवको संगतले अधि बढ्न सकिँदैन भन्ने निष्कर्षमा देउवा पुग्नु भएको छ । तर उहाँहरू अझै पनि देउवालाई अलमल्याउन सकिन्छ कि, कांग्रेसको भोट पाउन सकिन्छ कि भनेर देउवाको पछि पछि लागि रहनुभएको छ ।

देउवा भने ओत लाग्न ठुलै रुखको आड खोज्दै हुनुहुन्छ । उहाँ ओलीको आड लिन खोज्दै हुनुहुन्छ । देशलाई संकटबाट मुक्त गर्न ओलीको पछि नलागी सम्भव छैन भन्ने उहाँले महसुस गर्नुभएको छ । त्यसैले बारम्बार ओली निवास धाउन लाग्नुभएको छ । देश र दुनियाँले  केपीलाई हेरेकाे छ ।

हुन त अझै जालझेलको राजनीति सकिएको छैन । एमसीसी प्रतिनिधि सभामा पेस गर्नबाट अझै रोकिँदै छ । राष्ट्रिय सहमति बनाउने भन्दै त्यसलाई माधव प्रचण्डले अलमल्याउँदै छन् ।

अझै पनि गठबन्धन जोगाउन सकिन्छ कि भनेर प्रचण्ड र माधव षडयन्त्रका पासा फाल्दै हुनुहुन्छ । अझै एमालेलाई गलाउन र फसाउन सकिन्छ कि भनेर उहाँहरू छिद्र खोज्दै हुनुहुन्छ ।

सहमति बिना एमसीसी पेस गरे गठबन्धन टुट्छ भनेर धम्क्याउँदै हुनुहुन्छ । फेरि सरकार छाड्न पनि तयार हुनुहुन्न ।

आफ्नै सरकार छ । आफ्नै कार्यकर्ता सरकारको विरुद्ध सडक आन्दोलनमा छन् । सरकारमा पनि आफैँ, सडकमा पनि आफैँ । देख्नेलाई पनि लाजको अवस्था छ ।

यो अवस्थाबाट देशले कहिले मुक्ति पाउला ? फागुन १६ गतेसम्म प्रतीक्षा गर्नुपर्ने भएको छ । किनकि फागुन १६ अघि एमसीसी प्रतिनिधि सभामा निर्णय हुने सम्भावना कम छ । त्यसपछि देशको राजनीति नयाँ कोर्समा अघि बढ्न सक्छ । (साभार : सनराइज खबर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *