कोरोना परीक्षणको नक्कली रिपोर्ट बनाउने विरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं : कोरोना संक्रमण परीक्षणको नक्कली रिपोर्ट बनाएको आरोपमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तत्कालीन ल्याब इन्चार्ज विनोदकुमार यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

यादवले अस्पतालमा भर्ना भएका बिरामीको स्वाब संकलन गरी अनाधिकृत रुपमा शुल्क उठाई स्वाबको परीक्षण नै नगरी गलत रिपोर्ट दिएको खुलेकाे भन्दै अख्तियारले साेमबार विशेष अदालतमा मुद्दा दायर गरेकाे हाे।

अनुसन्धानका क्रममा यादवले परीक्षण नै नगरी गलत रिपोर्ट दिने तथा रिपोर्ट पोजेटिभ आएमा थप रकम लिई रिपोर्ट नेगेटिभ बनाइदिने गरेकाे अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए।

अनुसन्धानका क्रममा शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा यादवले चलाउने कम्प्युटरको फरेन्सिक परीक्षण गर्दा कोरोना परीक्षणको सबै रिपोर्ट नक्कली पाइएको र उनले अस्पतालको छाप  आफूखुशी बनाई दुरुपयोग गरेको खुलेकाे भण्डारीले बताए।

यादवले गरेको काम भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९ को उपदफा २ बमोजिम कसूर भएकाकाे अख्तियारले जनाएकाे छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *