नेपालगन्ज ः पछिल्लो पाँच वर्षमा मुलुकमा ३७ सिमेन्ट उद्योग दर्ता भइसकेको उद्योग विभागको तथ्यांक छ । जसमा १ खर्ब ८० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता छ । विभागमा दर्ता भएमध्ये कतिपय सञ्चालनमा रहेका उद्योगले पनि क्षमता विस्तार गर्न लागेका छन् । अर्घाखाँची, मारुती, सम्राट, घोराहीलगायतका उद्योगले क्षमता विस्तार गर्न विभागमा लगानी थप्ने प्रस्ताव गरेका छन् ।
अहिले मुलुकभर ग्राइन्डिङ र क्लिंकर गरी ६४ उद्योग सञ्चालनमा छन् । यी उद्योगको वार्षिक उत्पादन क्षमता २ करोड टन नाघिसकेको छ । तर, बजारमा सिमेन्टको माग आधाभन्दा पनि कम छ । आर्थिक वर्ष ०७५÷७६ मा सिमेन्टको माग १ करोड टन थियो । आव ०७६÷७७ मा सिमेन्टको माग १० प्रतिशतले बढेर १ करोड १० लाख टन खपत हुनुपर्थ्यो, तर दुर्भाग्य १ उल्टै १० प्रतिशत माग घटेको नेपाल सिमेन्ट उत्पादन संघका अध्यक्ष ध्रुव थापा बताउँछन । उनकाअनुसार कोभिड महामारीका कारण यस वर्ष सिमेन्टको माग घटेर ८० लाख टनमा सीमित हुने देखिन्छ ।
अध्यक्ष थापाका अनुसार धेरै उद्योगहरूले अहिले परल मूल्यभन्दा पनि कममा सिमेन्ट बिक्री गरिरहेका छन् । विकास निर्माण ठप्प भएर सिमेन्टको माग घटेपछि पछिल्लो समय सिमेन्टको भाउ बोरामा १ सय २५ रुपैयाँसम्म घटेको बताइन्छ । उनी भन्छन्, ‘चार वर्षअघिको तुलनामा अहिले सिमेन्टको भाउ बोरामा ३ सय रुपैयाँ घटिसकेको छ ।’ उद्योगमा सिमेन्ट स्टक राख्न मिल्दैन । उत्पादन गरेको दुई–तीन दिनभित्र बजारमा पठाइसक्नुपर्छ । तर, बजारमा सिमेन्टको माग छैन । त्यसैले अहिले सिमेन्ट उद्योगहरू सिजनमै ३५–४० प्रतिशत क्षमतामा मात्र चलिरहेको उनले बताए ।डेढ दशकदेखि रोकिएको दाङ सिमेन्ट इन्डस्ट्रिज चिनियाँ कम्पनी होङ्सी होल्डिङ ग्रुपले नेपाली साझेदारसँग मिलेर चलाउँदै छ । होङ्सी होल्डिङ्सको सहायक कम्पनी हङकङ रेडलायन र नेपालका सारडा, गोयल र लक्की ग्रुपको साझेदारीमा दुई वर्षअअघि होङ्सी शिवम् सिमेन्टले उत्पादन सुरु गरेको थियो । ठूलो क्षमताको होङ्सी शिवम् सिमेन्ट उद्योग सञ्चालनमा आएपछि बजारमा सिमेन्टको भाउ घट्न थालेको बताइन्छ । दाङमा पनि दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्ने गरी उद्योग चलाउन थालेको एक सञ्चालकले बताए । दाङ सिमेन्टको मुख्य साझेदार भारतीय कम्पनी अम्बुजा सिमेन्टको सेयर स्वामित्व खरिद गरेर नयाँ लगानीकर्ताले उद्योग चलाउन थालेका हुन् । पाल्पामा निर्माण भइरहेको सिजी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता दैनिक ६ हजार टन छ ।
