विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक बिरामीको पेटबाट पेटीको ‘बक्कल’ र सिक्री निकालिएको छ । भोजपुरको भोजपुर नगरपालिका-१२, टक्सारका २१ वर्षीय युवकको पेटबाट कम्मरमा बाँध्ने पेटीको बक्कल र घाँटीमा लगाउने फलामको सिक्री निकालिएको हो ।
पारिवारिक स्रोतका अनुसार ती युवकले आत्महत्या प्रयास गर्ने क्रममा आफैँले कम्मरमा लगाएको पेटीको बक्कल र घाँटीमा लगाएको सिक्री निलेका थिए । घटनापछि उपचारका लागि नोबेल ल्याइएका ती युवकको पेटबाट दुवै वस्तु निकालिएको हो ।
विनाचिरफार इन्डोस्कोपिक विधिमार्फत पेटमा भएको बक्कल मुखबाट निकालिएको नोबेलका विशेषज्ञ शल्यचिकित्सक डा. ध्रुवनारायण शाहले जानकारी दिए । डा. शाहका अनुसार ती युवकको पेटको खाना नलीमा बक्कल अड्किएको थियो । सिक्री आमाशयमा पुगेको थियो ।
