दक्षिणपन्थी अवसरवादी कस्ता हुन्छन् भन्दा प्रचण्ड-माधवको अनुहार देखाइदिए हुन्छ: शंकर पोखरेल


काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले दक्षिणपन्थी अवसरवादीको प्रतिनिधित्व अहिलेको अवस्थामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले गरिरहेको आरोप लगाएका छन्। 

एमालेनिकट मुस्लिम इतेहात संगठनको कार्यक्रममा बोल्दै पोखरेलले प्रचण्ड र नेपाल दक्षिणपन्थी अवसरवादीको प्रतिनिधि भएको आरोप लगाएका हुन्। 

उनले भने, ‘कसैले दक्षिणपन्थी अवसरवादी कस्तो हुन्छ भनेर सोध्यो भने प्रचण्ड र माधव नेपालको अनुहार देखाइदिए हुन्छ। अहिले त्यसको प्रतिनिधित्व उनीहरुले नै गरिरहेका छन्।’

जो प्रधानमन्त्री हुँदा प्रचण्डले ४० बुँदै माग प्रस्तुत गरेर सशस्त्र युद्ध  थालेका थिए तिनै शेरबहादुर देउवा अहिले लोकतन्त्रका लागि अनिवार्य ठानिरहेको उनको भनाइ छ। 

उनले भने,  ‘प्रचण्डले नेपाली राजनीतिमा ४० बुँदे माग प्रस्तुत गरे।  यी माग पूरा नगरे जे पनि गर्ने भनेर दिएको समयसीमा नसकिँदै फागुन १ गतेबाट संघर्ष थाले। १० वर्ष नेपाल हिंसामा रुमलियो। त्यसैका बालमा माओवादी राष्ट्रिय शक्ति बन्यो। १७ हजारको ज्यान गयो। त्यही देउवा अहिले प्रचण्डलाई नभइ नहुने भयो।’

गठबन्धन नभइ माओवादी पार्टीको भविष्य नरहेको बताउँदै उनले प्रचण्ड अवसरका लागि जुन हदसम्म पनि पुग्ने नेता भएको टिप्पणी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *