महाभियोग प्रस्तावसँग सम्बन्धित कागजात झिकाउन सर्वोच्चको आदेश


सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध लगाइएको महाभियोग प्रस्तावसँग सम्बन्धित सम्पूर्ण कागजात झिकाउन आदेश जारी गरेको छ।

शुक्रबार बसेको संवैधानिक इजलासले संसद सचिवालयलगायत निकायसँग महाभियोग प्रस्तावसँग सम्बन्धित कागजात झिकाउन आदेश गरेको सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिए।

‘महाभियोगसँग सम्बन्धित कागजात संसद सचिवालयबाट झिकाउने आदेश भएको छ’, पौडेलले थाहाखबरसँग भने, ‘कागजात प्राप्त भएपछि मात्रै अर्को पेशी तोकिनेछ।’

प्रधानन्यायाधीश राणाविरुद्ध संसदमा पेश गरिएको महाभियोग प्रस्ताव खारेजीको माग गर्दै अधिवक्ताहरू डा.पुण्यप्रसाद खतिवडा र त्रिलोकबहादुर चन्दलगायतले दुई छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

अधिवक्ता चन्दको रिट भने साथै राखी पेश गर्ने आदेश भएको प्रवक्ता पौडेलले जानकारी दिए।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र तेजबहादुर केसीको इजलासमा रिटमाथि प्रारम्भिक सुनुवाइ भएको हो।

प्रधानन्यायाधीश राणाविरुद्ध गत फागुन १ गते सत्ता गठबन्धनका ९८ सांसदको हस्ताक्षरमा संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको हो। प्रस्ताव दर्तासँगै उनी स्वतः निलम्बित भएपछि दीपककुमार कार्कीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *