नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले स्थानीय तहको निर्वाचन सारे देशभर आँधीबेहरी ल्याउने चेतावनी दिएका छन्।
सोमबार सोलुखुम्बुमा भएको कार्यक्रमलाई सम्बाेधन गर्दै ओलीले भने, ‘अहिले गठबन्धनले चुनाव सार्न खोजिरहेको छ। विप्लवको लागि चुनाव सार्ने रे ! मैले खुला राजनीतिमा ल्याएको हुँ। पार्टी दर्ता गर्ने बेलामा कता जानुभएको थियो? अहिले गठबन्धनको मतियार भएर पार्टी दर्ता गर्न भुलेछु भन्न मिल्छ? चुनाव सार्न मिल्छ? पार्टी पनि होइन केही झुण्डको लागि देश र लोकतन्त्र नै धरापमा पार्न मिल्छ?’
पाँचदलीय गठबन्धन विप्लवलाई देखाएर आफ्नो स्वार्थको लागि निर्वाचन रोक्ने खेलमा लागेको आरोप लगाए। विप्लव हिंसाबाट पार नलाग्ने देखेपछि शान्तिपूर्ण राजनीतिमा आएको समेत बताए।
विप्लवलाई ओलीले भने, ‘तपाईं पार्टी छैन भने सूर्य चिन्हबाट लिएर लड्नुस् पार्टी र कार्यकर्ता तपाईंकै हुन्छ। अर्को पार्टी प्यारो लाग्छ भने त्यस्तै गर्नुस्। तर, निर्वाचन रोक्ने गठबन्धनको षडयन्त्रमा नफस्नुहोस्।’
निर्वाचन नरोक्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूले सन्देश पठाएको समेत ओलीले बताए। वैशाख ३० मा निर्वाचन नभए एमाले मौन नबस्ने ओलीको चेतावनी छ।
‘मैले प्रधानमन्त्रीलाई पनि खबर पठाएको छु। चुनाव रोक्ने कोसिस नगर्नुस् भनेर, आज पनि गठबन्धन चुनाव सार्न बालुवाटारमा मिटिङ बस्दै छ। म गठबन्धनलाई भन्न चाहन्छु, संविधान विरोधी अपराध धेरै भइसक्यो। अब सह्य हँदैन’ ओलीले चेतावनीको शैलीमा भने, ‘गठबन्धनले चुनाव सारे त्यसका विरुद्ध लाग्न तयार भएर बस्नुस्। देशभरी आन्दोलनको आँधिवेहरी ल्याउनुपर्छ।’
उनले गठबन्धनलाई आफैले तोकेको निर्वाचनको सामना गर्न आह्वान गर्दै एमाले एक्लै लड्न तयार भएको समेत बताए। लोकतन्त्र र संविधान मास्ने कुरा एमालेलाई सैह्य नहुने समेत बताए।
पार्टी नै सकाउने अवस्थामा पुर्याएपछि हटाएको माधव नेपालले पार्टी दुई तिहाइमा पुगेपछि निद्रा लाग्न छाडेर पार्टी फुटाएको आरोप लगाए।
ओलीले नेपालप्रति भने, ‘उनले पार्टी चलाउँदा पार्टी नै सकिसकेको अवस्थामा पुर्याएका थिए। अहिले हामीले दुई तिहाइमा पुर्याएपछि निद्रा लाग्न छाड्यो। अहिले पार्टी फुटाएर कांग्रेसको पछिपछि हिँडिरहेका छन्।’
सिद्धिसकेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीमा ल्याएर ५३ सिटमा पुर्याएको दाबी गरे।
ओलीले प्रचण्डप्रति कटाक्ष गर्दै भने, ‘साथीहरुले मानेका थिएनन्। एकता र तालमेल गर्न। प्रचण्ड खतरनाक मान्छे हो भन्दै थिए। मैले गरे। सर्प घरमा पाल्दै हुनुहुन्छ। अझै अध्यक्ष बनाएर आफैंसँग नजिक राख्दै हुनुहुन्छ। अगाडि यस्तो परेको दुईवटा दाँत देख्नुभएको छैन। कतिबेला डस्छ भन्दै हुनुहुन्थ्यो। नभन्दै प्रचण्डले डस्न थाले।’
कांग्रेस कुनै नीति र एजेण्डा नभएको पार्टी भएको ओलीको टिप्पणी छ। चुनावी कुनै एजेण्डा नभएकै कारणले एमालेले गरेको विकासको कामको विरोध गर्दै हिँडेको उनले बताए।
उनले गठबन्धनमा सामेल भएको राष्ट्रिय जनमोर्चाप्रति पनि आक्रोश पोखे।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीप्रति आक्रोश पोख्दै ओलीले भने, ‘गठबन्धनमा भएको गिलासले पनि एमाले पत्तासाफ गर्ने भनेका छन्। रुख भन्ठानेछन् कि क्या हो ! सूर्य हो एमाले। एमाले रुख होइन। पहिले आफ्नो र रुखको पात जोगाऊन्।’
