म्याग्दीका ५ पालिकामा दलहरु एक्लाएक्लै चुनावमा होमिएका छन्। बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनका लागि जिल्लामा सत्तारुढ दलहरुबीच धवलागिरी गाउँपालिकामा भने चुनावी तालमेल भएको छ ।
अन्य पालिकामा भागवण्डामा सहमति नभएपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रले एक्ला एक्लै उम्मेदवारी दर्ता गराएका छन् । सोमबार सहमतिका लागि अन्तिम कसरत भएपनि सफल हुन सकेन।
बेनी नगरपालिकाको मेयर उपमेयरमा तालमेल नभए पनि वडा नंं ६, २, ८, ९ र १ नम्बर वडामा गठबन्धन भएको छ । त्यस्तै अन्नपूणर्मा माओवादीले दुई वडा सदस्य लिएर तालमेल गरेको छ ।
कुन दलबाट कुन पालिकामा को-को भए उम्मेद्वार ?
नेपाली कांग्रेस
पार्टीले जिल्लाको एकमात्र नगरपालिका बेनीमा मेयरका लागि चिरञ्जीवी शर्मा र उपमेयरमा अमृतदेवि बानियाँलाई उम्मेदवार बनाएको छ । यस्तै पार्टीले रघुगंगा गाउँपालिकामा भब बहादुर भण्डारीलाई अध्यक्ष प्रेम कुमारी पुन लाई उप-प्रमुखको उम्मेदवार बनाएको छ ।
मालिका गाउँपालिकामा श्रीप्रसाद रोकालाई प्रमुख र पिपला बुढा मगरलाई उप-मेयरको उम्मेदवार बनाएको छ। यस्तै मंगला गाउँपालिकामा बिरेद्र बुढाथोकीलाई प्रमुख र शर्मिला थापालाई उपप्रमुखको उम्मेदवार बनाएको छ।
अन्नपूणर् गाउँपालिकामा क्या. बलबहादुर तिलिजालाई प्रमुख र ललिता तिलिजा पुनलाई उप-प्रमुखको उम्मेदवार बनाएको छ ।
नेकपा एमाले
एमालेले बेनी नगरपालिकामा सुरत केसीलाई मेयर र पशुपति शाहीलाई उप-मोयरको उम्मेदवार बनाएको छ । यस्तै रघुगंगा गाउँपालिकामा पार्टीले प्रेमबहादुर कार्कीलाई प्रमुख र यामकुमारी पुनलाई उप-मेयरको उम्मेदवार बनाएको छ।
मालिका गाउँपालिकामा बेगप्रसाद पुनलाई प्रमुख र लक्ष्मीदेवी पुनलाई उप-प्रमुखको उम्मेदवार बनाएको छ। मंगला गाउँपालिकामा प्रमुखका लागि सतप्रसाद रोका र उप-प्रमुखका लागि पेमा अधिकारीले उम्मेदवारी मनोनयन गराएका छन्। अन्नपूणर् गाउँपालिकामा भरत पुन प्रमुख र दिवा पुन उप-प्रमुखका उम्मेदवार बनेका छन्।
माओवादी
पार्टीले बेनी नगरपालिकामा धनिलाल जैसीलाई प्रमुख र ज्योती लामिछानेलाई उप-प्रमुखको उम्मेदवार बनाएको छ। रघुगंगा गाउँपालिकामा प्रमुखमा मिना विक र उप-प्रमुखमा रिम कटुवाल उम्मेदवार बनेका छन्।
यस्तै मालिका गाउँपालिकामा पार्टीबाट सुविन जुग्जाली प्रमुख र गौरी सेन्चुरी उप-प्रमुखका लागि उम्मेदवारी दिएका छन्। यस्तै मंगला गाउँपालिकाको प्रमुखमा टेकबहादुर विक र उप-प्रमुखमा सुकमाया रोका उम्मेदवार बनेका छन् ।
राप्रपा
यस्तै राष्ट्रिय प्रजातान्त्र पार्टी(राप्रपा) ले पनि बेनी नगरपालिकाको प्रमुखमा मिना कुमारी शर्मा सापकोटा र उप-प्रमुखमा एकेन्द्र बहादुर रावल उम्मेदवार बनेका छन्।
