कांग्रेसको घोषणापत्रबारे ओलीको टिप्पणी : पागलहरूको प्रलाप, एमालेको कपी


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्रलाई गाली गलौजको पुलिन्दा भएको बताएका छन्।

मंगलबार सानेपास्थित मनमोहन स्मृति प्रतिष्ठानमा मनमोहन अधिकारीको २३ औँ स्मृति दिवसमा बोल्दै ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्र गाली गलौजको पुलिन्दामात्र भएको दाबी गरेका हुन्।

कांग्रेसले चुनावी घोषणापत्रमा नेकपा एमालेलाई गाली गलौज गरेको, राष्ट्रपतिमाथि आरोप लगाएको र एमालेको राजनीतिक दस्तावेज चोरेको आरोप समेत लगाए।

ओलीले भने, ‘नेपाली कांग्रेसको घोषणापत्र भन्ने शीर्षक छ बाहिर। भित्र गाली पुराण छ। यो तथानाम एमालेलाई धारे हात लाएर गाली गरेको छ‚ सरापेको छ। नेपाली कांग्रेसका कार्यकर्ताहरूले कांग्रेसले सरकार बनाउला भन्ने कत्रो सपना देखेका थियौँ, नेकपा एमालेका कारणले हाम्रा सपना ध्वस्त भए। हाम्रो सपना ध्वस्त पार्ने त्यस्तो अपराधी हो नेकपा एमाले भन्ने लेख्छ चुनाव घोषणापत्रमा।’

२०६२/०६३ मा सँगै आन्दोलनमा उत्रिएको नेपाली कांग्रेसलाई सन्चो नहुनुको कारण सोध्नुपर्ने वेला भएको बताए। उनले पार्टीको घोषणापत्रमा सभ्यता, शिष्टता, मर्यादाको कुरा नभएको र नेकपा एमालेको घोषणापत्र सारेको आरोप लगाए। कांग्रेस अहिले कुनै राजनीतिक एजेण्डा र देश विकासको योजना नभएको र कांग्रेसमा देश विकास, नीति, नियम, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको देहान्तसँगै सकिएको भान हुन थालेको बताए।

ओलीले प्रश्न गर्दै भने, ‘नेपाली कांग्रेसलाई सन्चो छ कि छैन ? एकपटक घोषणा गर्नुअघि सोध्न मन लागेको छ। राजनीतिक, संवैधानिक, कानुनी कुरा गर्नुपर्‍यो नि। अधिकांश घोषणापत्र त्यस्तै छ। अर्को पाटो संविधानका राम्रा कुरा ठाउँठाउँबाट निकालेको छ। संविधानबाट टिप्दै राख्दै गरेको छ। अर्को पक्ष पनि छ। एमालेको घोषणापत्र नक्कल गरेर सारेको छ। चोर विद्यार्थीले चिट चोरेझैँ अर्काको लेख्दा आँखा उता हात यता हुँदा छड्के अक्षर भएका छन्। त्यसमा एमालेमाथि तथानाम गाली, संविधानका केही कुराको उतार, अर्को एमालेको कपी। कुनै राजनीतिक दस्तावेज नै होइन, पागलहरूको प्रलाप हो।’

प्रधानमन्त्री शेरबहादुर देउवासँग देश विकास गर्ने कुनै एजेण्डा नभएको आरोप लगाए। सुशासन वा शासन कसरी सञ्चालन गर्ने भन्ने बारेमा पनि प्रधानमन्त्रीसँग कुनै योजना नभएको बताए। कांग्रेस अहिले गठबन्धन नामको कुहिएको लौरोको भरमा रहेको बताए। गठबन्धन नामको कुहिएको लौरो आसन्न स्थानीय निर्वाचनबाट सकिने दाबीसमेत गरे।

ओलीले माओवादी केन्द्र पार्टी नभई केन्द्र भएको दाबी गरे। चुनाव घोषणापत्र निकाल्न नसक्ने पार्टी नहुने उनको तर्क छ। चुनावी घोषणापत्र किन ननिकालेको भन्ने प्रश्न सोध्न पनि आग्रह गरे। माओवादीले के गर्छ, के गर्न खोज्दै छ भन्ने कुरा भन्न नमिल्ने र झूट बोल्ने बाँकी कुरा नभएकाले ननिकालेको आरोप लगाए।

ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टी फाटोवादी, चोइटोवादी भएको आरोप लगाए। हतारमा घोषणापत्र निकालेको समाजवादीको घोषणापत्रमा केही तुक नरहेको दाबी गरे।

अहिलेको गठबन्धन अपराधका लागि बनेको अपराधी गठबन्धन भएकोले चुनाव सार्ने षड्यन्त्र भइरहेको तर नेकपा एमालेले चुनाव सार्न नदिने स्पष्ट पारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *